म्याग्दी । स्वास्थ्योपचार सँगै पर्यटन बिकासका लागि पनि निकै राम्रो मानिने बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा असोज महिना लागे सँगै होटल तथा होमस्टेहरु भरिभराउ हुने गर्दछन् । वर्षमा सबै भन्दा थोरै असार साउन र भदौ महिनामा पर्यटक तथा विरामीहरु आउने तातोपानी कुण्डमा असोज लागे सँगै स्नानका लागि आउनेहरुको संख्या आकासिने गर्दछ । तातोपानी कुण्डमा स्नान गरेर रोग निको पार्ने मात्रै नभएर आफ्नो थकान मेटाउने तथा पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपूर्ण छ यो कुण्ड ।
म्याग्दी सदरमुकाम बेनी देखि पश्चिम तर्फ ९ किलोमिटरको दुरीमा रहेको सिंगा तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँका मानिस मात्रै नभएर विदेशीहरु पनि आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्यले देखाउने लेखापाल रमेशबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा तातोपानी कुण्डमा स्नानका लागि नेपालका ६० भन्दा बढी जिल्ला तथा बिदेशबाट पनि आएका थिए । गत वर्ष कोरिया, जापान, पोल्याण्ड, भारत, रसिया, इजरायल, युक्रेन र स्कटल्याण्डका नागरिक समेत आएका थिए । गत वर्षको साउन महिनामा तीन सय ३८, भदौमा चार सय ८८, असोजमा एक हजार तीन सय ३२, कार्तिकमा दुई हजार तीन सय ७४, मंसिरमा एक हजार चार सय १८ र पुस महिनामा एक हजार तीन सय २४ जनाले तातोपानी कुण्डमा स्नान गरेका थिए । त्यसैगरी माघमा दुई हजार आठ सय ९०, फागुनमा तीन हजार सात सय एक, चैतमा चार हजार छ, बैशाखमा एक हजार दुई सय ९२, जेष्ठमा आठ सय ५७ र असारमा तीन सय २७ गरी कुल २० हजार तीन सय ४७ जना बिरामीहरुले कुण्डमा स्नान गरेका थिए ।

चालु आर्थिक वर्षको साउनमा तीन सय ५९, भदौमा चार सय ७४ र असोज महिनामा करिब तीन हजार बिरामीहरुले तातोपानीमा आएर नुहाएको तातोपानी कुण्ड व्यवस्थापन समितिका टिकट काउण्टरका कर्मचारी राजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
कुण्डमा नुहाउनका लागि आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार चार सय तीन, ०७९ /०८० मा १८ हजार दुई सय ५८, आ.व. ०७८ /०७९ मा १० हजार नौ सय २०, ०७७ /०७८ मा सात हजार छ सय ९१ बिरामीले स्थान गरेका थिए । कोभिड १९ को कारणले भएको लकडाउनको समयमा आ.व.७७/७८ मा साढे सात हजार भए पनि अन्य समयमा भने बिरामीको चाप उल्लेख्य रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा सबै भन्दा धेरै बागलुङ जिल्लाबाट आउने गरेको देखिन्छ । त्यस्तै दोश्रोमा म्याग्दी र तेश्रोमा कास्कीका नागरिकहरु तातोपानी कुण्डमा आउने गरेको तथ्याङ्कले देखाउँछ । तातोपानी क्षेत्रमा साना ठूला २० भन्दा धेरै होटल रहेको र ती होटलहरु अहिले भरिभराउ रहेका तातोपानीका स्थनीय वासिन्दा इश्वरसिंह केसीले जानकारी दिनुभयो । यो सिजनको समय भएकोले पाहुनाहरुले आफै पकाएर खाने र बस्नका लागि घरका कोठाहरु पनि पाउन मुस्किल भएको उहाँको भनाई छ । व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाहरुको संख्या दैनिक एक हजार पाँच सय जनाको हाराहारीमा छ । असोज देखि बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो भने असार साउन र भदौ महिना खास गरी तातोपानीका लागि अफ सिजन हो ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्री (कुमार) ले स्नान गर्न आउनेहरुको चाप बढेकाले बिहान साढे पाँच बजेदेखि साँझ पाँच बजेसम्म महिला, पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो –महिला र पुरुषको छुट्टा छुट्टै समूह बनाएर दुई दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
तातोपानी संकलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति तीन सय ५० शुल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । कुण्डमा स्नानका लागि आएकाहरुबाट प्रवेश शुल्क वापत गत आर्थिक वर्षमा ७१ लाख २१ हजार चार सय ५०, आर्थिक वर्ष २०८०÷०८१ मा ६७ लाख ९१ हजार ५० र आ.व २०७९÷०८० मा ६३ लाख ९० हजार तीन सय रुपियाँ तातोपानी कुण्डले संकलन गरेको थियो ।