प्रवेश पौडेल, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ नगर कमिटीले वडा र नगर अधिवेशनको मिति तय गरेको छ । नगर कमिटीको पूर्ण बैठकले आगामी मंसिर २६ गते सबै वडा कमिटीको अधिवेशन र पुस ४ गते नगर अधिवेशन गर्ने निर्णय गरेको हो ।
नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षतामा क्षेत्री समाज बागलुङको सभाहलमा सम्पन्न बैठकले अधिवेशनको तयारी र व्यवस्थापनका लागि आवश्यक कार्यतालिकासमेत निर्धारण गरेको छ । निर्णयअनुसार वडा अधिवेशनको तयारीका लागि मंसिर ५ देखि १२ गतेसम्म बैठक तथा छलफल गरिनेछ । त्यस्तै, नगर अधिवेशनको तयारीका लागि मंसिर २६ र २७ गते बैठक गर्ने तय भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
बैठकमा वडा कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो वडामा पार्टीका गतिविधि, संगठनको अवस्था र समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए । आगामी अधिवेशनलाई व्यवस्थित र सर्वसम्मत रूपमा सम्पन्न गर्ने विषयमा समेत छलफल भएको थियो ।
बैठकमा प्रमुख अतिथि मनकुमारी केसीले जिल्लाका विभिन्न पालिकामा पार्टी सदस्यता नवीकरण उत्साहजनक रूपमा भइरहेको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र विकासका सवालमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कठिन राजनीतिक परिस्थितिमा पनि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनताको विश्वास र भरोसा जित्ने गरी पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
बैठकमा नेकपा एमाले जिल्ला सचिव गणेश थापाले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले पुस्तान्तरण र रूपान्तरणलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । उहाँले वडा अधिवेशनलाई सक्रियता, एकता र उत्साहका साथ सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । बैठकमा नगर क्षेत्रका वडा इन्चार्ज, जिल्ला, प्रदेश तथा केन्द्र तहका नेता तथा अगुवाहरूको सहभागिता रहेको थियो । बैठकको सञ्चालन नगर कमिटीका सचिव ध्रुव श्रेष्ठले गर्नुभएको थियो । बैठकले आगामी वडा तथा नगर अधिवेशनलाई व्यवस्थित, एकताबद्ध र उत्साहपूर्ण रूपमा सम्पन्न गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।