• २०८३ कार्तिक २८, शुक्रबार
  • 2026 November 13, Friday

बागलुङ समाज दक्षिण कोरियाद्वारा संस्थापक अध्यक्ष स्वर्गीय पुनको परिवारलाई एक लाख ४१ हजार सहयोग

  • २०८३ कार्तिक २८, शुक्रबार

बागलुङ । बागलुङ समाज दक्षिण कोरियाले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण पुनको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

मृगौलामा समस्या भई लामो समयदेखि उपचाररत पुनको कात्तिक १८ गते निधन भएको थियो । उपचार लगायतका कारण पुनको परिवारको आर्थिक अवस्था कठिन रहेको भन्दै समाजले सहयोग अभियान सञ्चालन गरेको समाजले जनाएको छ ।

समाजका संस्थापक अध्यक्ष पुनले तीन कार्यकालसम्म निरन्तर नेतृत्व गर्दै संस्थाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । बागलुङबाट अध्ययन, रोजगारी तथा व्यवसाय लगायत विभिन्न कारणले दक्षिण कोरियामा पुगेका बागलुङेहरुलाई संगठित गरी संस्था गठनको अगुवाई गरेका पुनले संस्थापक अध्यक्षको जिम्मेवारी सहित तीन कार्यकाल नेतृत्व गर्नु भएको हो ।

समाजको नोभेम्बर ९ तारिख बसेको आकस्मिक कार्यसमिति बैठकले स्वर्गीय पुनको परिवारलाई क्रियाखर्च तथा राहत सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यसमिति, संरक्षक र सल्लाहकारहरूबीच स्वैच्छिक सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

समाजका सहकोषाध्यक्ष दलबहादुर थापा मगरको संयोजकत्वमा सञ्चालित अभियानबाट १२ लाख ६२ हजार कोरियन वन संकलन भएको थियो । उक्त रकम नेपाली रुपैयाँ एक लाख ४१ हजार चार रुपैयाँ हुन आउँछ ।

संकलित रकम बिहीवार (नोभेम्बर १२ तारिख) स्वर्गीय पुनको निवास बागलुङ नगरपालिका–४ निरहेघाटमा पुगेर परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ । समाजका उपाध्यक्ष सुमन रोका, पूर्वपदाधिकारी गगन पुन र केबी पुनले परिवारलाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।

दुखमा साथ दिएको भन्दै पुनकी श्रीमती विजया पुनले समाजलाई धन्यवाद व्यक्त गर्नु भयो ।सहयोग हस्तान्तरणका क्रममा स्वर्गीय पुनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।

समाजका अध्यक्ष राजु नेपालीले स्वर्गीय पुन प्रति श्रद्धाञ्जली, परिवारमा समवेदाना र सहयोग अभियानमा साथ दिने सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगी मनहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नु भएको छ । संस्थाले आगामी दिनमा पनि आपसी एकता, सद्भाव र सहयोगको भावनालाई निरन्तरता दिने जनाएको छ ।

स्वर्गीय पुन बागलुङ समाज दक्षिण कोरियाका संस्थापक अध्यक्षका रूपमा संस्थाको स्थापना र विकासमा सक्रिय रहनु भएको थियो । उहाको निधनले समाजले एक अग्रणी अभिभावक गुमाएको संस्थाका पूर्व अध्यक्ष याम श्रीसले बताउनुभयो ।
समाजका संस्थापक अध्यक्ष पुन समाजले धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा स्थापित स्वास्थ्यसेवा अक्षयकोषको संयोजक रहनु भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडमा स्थापित कोषबाट विपन्न परिवारका सदस्यको उपचारमा सहयोग गरिन्छ ।
काठेखोला गाउँपालिका वडा नं. ८ कादेशमा जन्मिएका पुन लामो समय कोरियामा रोजगारी गरी फर्केर निरहेघाटमा कालीगण्डकी माछापालन तथा एग्रो रिसोर्ट सञ्चालन गरेर बस्नु भएको थियो ।

  • २०८३ कार्तिक २८, शुक्रबार