• २०८३ कार्तिक २१, शुक्रबार
  • 2026 November 06, Friday

बागलुङमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने

  • २०८३ कार्तिक २१, शुक्रबार

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन आग्रह गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको हो । तिहारलाई सभ्य, सुरक्षित, शान्तिपूर्ण र उल्लासमय बनाउन विभिन्न नियम पालना गर्न प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

प्रहरीले मादक पदार्थ सेवन गरी देउसी–भैलो खेल्न नपाइने, होहल्ला, झैझगडा तथा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गर्न नहुने जनाएको छ । यस्तै, डिजे, अत्यधिक ठूलो आवाजका लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न आग्रह गरेको छ ।

अस्पताल, विद्यालय र वृद्धाश्रम क्षेत्रमा बाधा पुग्ने गरी कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ । घरधनी वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिएर मात्रै देउसी–भैलो खेल्न, जबर्जस्ती चन्दा तथा दक्षिणा नमाग्न र कसैलाई धम्क्याउने कार्य नगर्न प्रहरीले सचेत गराएको छ ।

त्यस्तै, पटका, आतिसबाजीलगायत विस्फोटक तथा आगलागीको जोखिम हुने सामग्री प्रयोग, बिक्री र ओसारपसार नगर्न, सडक तथा फुटपाथमा आवागमन अवरुद्ध नगर्न र बालबालिकालाई अभिभावकको निगरानीमा राख्न आग्रह गरिएको छ ।

जातजाति, धर्म र संस्कृतिविरुद्ध घृणा फैलाउने गीत तथा गतिविधि नगर्नसमेत प्रहरीले अनुरोध गरेको छ । कुनै विवाद, आगलागी वा शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

  • २०८३ कार्तिक २१, शुक्रबार