बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका मातृका प्रसाद शर्मा पछिल्लो चार वर्षदेखि व्यावसायिक किबी खेतीमा लाग्नुभएको छ । ३० रोपनी जग्गा भाडामा लिएर गरेको अलैँची खेती सफल नभएपछि उहाँले किबी खेती सुरु गर्नुभएको हो ।
रोजगारीका सिलसिलामा दुई वर्ष मलेसिया बिताउनुभएका शर्मा अहिले गाउँमै व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले सुरुमा पाँच रोपनी क्षेत्रफलमा किबी खेती गर्नुभएको थियो । उक्त खेतीबाट उत्पादन लिन थालेपछि अहिले थप २० रोपनी क्षेत्रफलमा किबी खेती विस्तार गर्नुभएको छ ।
तीन वर्षमै किबीले उत्पादन दिन थालेको बताउँदै शर्माले गत वर्ष किबी बिक्रीबाट रु. चार लाख आम्दानी गरेको जानकारी दिनुभयो । यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानी दोब्बर बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि व्यावसायिक किबी खेती विस्तार गरेको हुँ, गत वर्ष रु. चार लाख आम्दानी भयो, यस वर्ष दोब्बर आम्दानी गर्ने लक्ष्य छ”, शर्माले भन्नुभयो, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूल खेती गर्दा सफल हुन सकिने रहेछ, अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ ।”
उहाँले गण्डकी प्रदेश सरकारको रु. २० लाख अनुदान सहयोगमा थप २० रोपनी आफ्नै बारीमा किबी खेती विस्तार गर्नुभएको हो । किबी खेतीलाई अझ विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । हाल उत्पादित किबी बजारमा पठाउने तयारी भइरहेको छ ।
“३० रोपनी जग्गामा अलैँची खेती गरेको थिएँ । हावापानी अनुकूल नहुँदा सबै नष्ट भयो । अहिले किबी खेती सफल भएको छ”, उहाँले भन्नुभयो, “सुन्तला खेतीसमेत सुरु गरेको छु ।”
सुरुमा प्रतिगोटा रु ५०० मा बिरुवा खरिद गरेर किबी खेती थाल्नुभएका शर्माले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गर्नुभएको छ । उहाँका अनुसार वडामा एक दर्जनभन्दा बढी किसान किबी खेतीमा आबद्ध छन् । यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबी खेती गर्ने किसान आफू नै रहेको उहाँको दाबी छ ।
जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबी खेतीका लागि सम्भावनायुक्त रहेको बताउनुभयो । उहाँका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा किबी खेतीको परीक्षण सफल भइसकेको उहाँले बताउनुभयो ।
नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटर उचाइसम्म किबी खेती गर्न सकिने भए पनि उपयुक्त हावापानी, तापक्रम र माटोको छनोट आवश्यक हुन्छ ।
