• २०८३ कार्तिक १९, बुधबार
  • 2026 November 04, Wednesday

विकास निर्माणमा अब ढिलासुस्तीगर्ने कसैलाई छुट छैन : सांसद शर्मा

  • २०८३ कार्तिक १९, बुधबार

बागलुङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सोम शर्माले जिल्लामा अलपत्र र रुग्ण विकास आयोजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बुधबार बागलुङमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणमा हुने ढिलासुस्ती अहिलेको सरकारले स्वीकार नगर्ने बताउनुभयो । काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी रोकिएका आयोजना अघि बढाइने उहाँको भनाइ थियो ।

मध्यपहाडी लोकमार्गको बिहुँ खण्ड, कुश्मिसेरा–देवलधारा सडक, जैमिनी र गलकोट नगरपालिकाका प्रशासकीय भवन तथा बागलुङ नगरपालिकाको भवन निर्माणमा भइरहेको ढिलाइबारे आफूले संघीय पूर्वाधारमन्त्रीलाई तीन पटक बागलुङमै ल्याएर जानकारी गराएको शर्माले बताउनुभयो ।

उहाँले लामो समयदेखि काम अलपत्र पार्ने निर्माण व्यवसायीका ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने बताउँदै काम नगर्ने रविना–जुगल जेभीलाई समेत कारबाहीका लागि पहल गर्ने जानकारी दिनुभयो ।
“बागलुङका समस्या संसद्मा उठाउँदै समाधानका लागि पहल गरिरहेको छु । पत्रकारका सुझाव र तथ्यमा आधारित समाचारलाई मार्गदर्शनका रूपमा लिएको छु”, उहाँले भन्नुभयो, “जनतालाई छिटो सेवा, विकास निर्माणमा तीव्रता तथा शिक्षा र स्वास्थ्यमा सुधार अहिलेको आवश्यकता हो ।”

पत्रकारले उठाएका प्रश्नको जवाफ दिँदै शर्माले सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा ढिलासुस्ती भए खबरदारी गर्न आग्रह गर्नुभयो । जिल्लाको विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा निसीखोलामा अलपत्र निसीखोला आधारभूत अस्पताल, बुर्तिबाङस्थित प्रदेशस्तरीय अस्पतालको सेवा प्रवाह तथा धौलागिरि प्रादेशिक अस्पतालमा मेडिकल कलेज स्थापना गर्ने विषयमा सांसद शर्माको ध्यानाकर्षण गराइएको थियो ।

  • २०८३ कार्तिक १९, बुधबार