• २०८३ कार्तिक १६, आईतवार
  • 2026 November 01, Sunday

प्रवासी नेपाली मञ्चको अध्यक्षका आकांक्षी प्रभु थापा को हुन् ? के छ उनको प्रतिवद्धता ?

  • २०८३ कार्तिक १६, आईतवार

बागलुङ । लामो संगठनात्मक अनुभव, राजनीतिक संघर्ष र सामाजिक सेवाबाट खारिएका प्रभुराम थापाले प्रवासी नेपाली मञ्चको अध्यक्षका लागि आकांक्षा व्यक्त गर्नु भएको छ ।

थापाले संगठनलाई एकताबद्ध, सशक्त, पारदर्शी र आत्मनिर्भर बनाउँदै विश्वभरिका प्रवासी नेपालीहरूको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले आगामी चार वर्षका लागि आफ्नो परिचय, राजनीतिक यात्रा, अनुभव र प्रतिबद्धताहरू सार्वजनिक गर्नु भएको छ ।

१. व्यक्तिगत परिचय

प्रभुराम थापाको जन्म वि.सं. २०२८ सालमा लमजुङ जिल्लाको साविक मोहोरीया, हाल राइनास नगरपालिका–९ मा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

खेलकुद क्षेत्रमा समेत सक्रिय थापा करातेका दोस्रो डान ब्ल्याक बेल्ट हुनुहुन्छ । उहाँ नेपाल आइकिडो राष्ट्रिय संघका संस्थापक उपाध्यक्षसमेत हुनुहुन्छ । सामाजिक, राजनीतिक र खेलकुद क्षेत्रको अनुभवले उहाँको नेतृत्व क्षमता र संस्थागत यात्रालाई थप फराकिलो बनाएको छ ।

२. राजनीतिक तथा संगठनात्मक यात्रा

थापाको राजनीतिक यात्रा बाल्यकालदेखि नै अन्याय र विभेदविरुद्ध आवाज उठाउँदै सुरु भएको हो । ११ वर्षको उमेरदेखि नै सामाजिक तथा राजनीतिक चेतनासहित सक्रिय उहाँ वि.सं. २०३९ सालदेखि कम्युनिस्ट पार्टीसमर्थित विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो ।

वि.सं. २०४७ सालमा प्रतिष्ठान स्तरीय ट्रेड युनियनको अध्यक्ष निर्वाचित भएका थापा वि.सं. २०५१ सालमा नेस्वाहोमयूको केन्द्रीय सदस्य बन्नुभयो । त्यसपछि संगठनको सहसचिव, सचिव हुँदै जिफन्ट राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो ।

संगठन विस्तार र सामुदायिक एकताका क्षेत्रमा उहाँले लमजुङ सम्पर्क मञ्चको संस्थापक सदस्य तथा अध्यक्ष, गण्डकी सम्पर्क मञ्चको सचिव तथा अध्यक्ष र पिपुल्स भोलेन्टियर्सको संस्थापक केन्द्रीय सदस्यका रूपमा योगदान पु¥याउनुभयो ।

सन् २००८ देखि अमेरिकामा राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय थापा यूएनडीएफको डीसी मेट्रो कमिटी सचिवालय सदस्य बन्नुभयो । सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट महासचिव निर्वाचित हुनुभयो भने सन् २०१७ को राष्ट्रिय अधिवेशनबाट बहुमतका साथ अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि प्रवासी नेपाली एकता मञ्च अमेरिका तथा प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक थापाले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । संगठनको पहिलो ऐतिहासिक अधिवेशनमा एकता र सर्वसम्मतिका लागि त्याग तथा सहमतिको भूमिका निर्वाह गरेको उहाँको अनुभव छ ।

हाल उहाँ प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । साथै, दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आयोजकको जिम्मेवारीमा रहेर संगठनात्मक गतिविधिमा सक्रिय हुनुहुन्छ ।

३. आन्दोलन, संघर्ष र राजनीतिक प्रतिबद्धता

थापाको राजनीतिक जीवन केवल संगठनात्मक जिम्मेवारीमा सीमित छैन । पञ्चायतविरोधी आन्दोलन, विशेषगरी वि.सं. २०४५÷४६ को जनआन्दोलन, कर्मचारी आन्दोलन तथा पार्टीका विभिन्न संघर्ष र जुलुसमा उनले नेतृत्वदायी सहभागिता जनाउनुभएको छ ।

आन्दोलनका क्रममा पटक–पटक घाइते तथा गिरफ्तार भएका थापा वि.सं. २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा सुरक्षाकर्मीको गोली लागेर घाइते हुनुभएको थियो ।

लामो राजनीतिक संघर्ष र आन्दोलनको अनुभवले लोकतन्त्र, सामाजिक न्याय, श्रमिक अधिकार र नागरिक स्वतन्त्रताप्रतिको उहाँको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।

४. पेसागत अनुभव तथा सामाजिक आबद्धता

थापासँग नेपालमा आफ्नै रेस्टुरेन्ट तथा विद्यालय सञ्चालन गरेको अनुभव छ । हाल अमेरिकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै स्वरोजगार श्रमिकका रूपमा सक्रिय हुनुहुन्छ ।

व्यावसायिक गतिविधिसँगै सामाजिक तथा सामुदायिक क्षेत्रमा पनि उहाँको सक्रियता उल्लेखनीय छ । उहाँले विभिन्न संघसंस्थामा निम्न जिम्मेवारी निर्वाह गरिरहनुभएको छ ।

विभिन्न सघसस्थामा आवद्धता र नेतृत्व :

अध्यक्ष, बाना बोर्ड अफ ट्रस्टी ।

प्रथम उपाध्यक्ष, लायन्स क्लब्स इन्टरनेसनलअन्तर्गत बाल्टिमोर नेप्लिज क्लब ।

निर्देशक, भिजन क्लब इन्टरनेसनल ।

आजीवन सदस्य, ब्लड डोनर एसोसिएसन ।

प्रमुख सल्लाहकार, जिफन्ट सपोर्ट ग्रुप अमेरिका ।

प्रमुख सल्लाहकार, लमजुङ अमेरिका सेवा समाज ।

अन्य विभिन्न सामाजिक तथा सामुदायिक संघसंस्थामा आबद्धता ।

राजनीतिक संगठन, श्रमिक आन्दोलन, उद्यमशीलता र सामाजिक सेवामा प्राप्त अनुभवलाई उहाँले अन्तर्राष्ट्रिय संगठनको नेतृत्वमा उपयोग गर्ने लक्ष्य राख्नुभएको छ ।

५. अध्यक्ष पदमा उम्मेदवारीको उद्देश्य :

प्रत्याशी प्रभु थापाका अनुसार उहाँको उम्मेदवारी व्यक्तिगत पद र प्रतिष्ठाका लागि मात्र नभई प्रवासी नेपाली मञ्चलाई विश्वभरका नेपालीहरूको साझा, एकताबद्ध र प्रभावकारी संगठन बनाउने उद्देश्यबाट प्रेरित छ ।

संगठन निर्माण, राजनीतिक संघर्ष, नेतृत्व र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई उपयोग गर्दै सामूहिक नेतृत्व, संस्थागत विकास, आर्थिक पारदर्शिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिने उहाँको प्रतिबद्धता छ ।

प्रवासी नेपाली मञ्चलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो, आर्थिक रूपमा आत्मनिर्भर र प्रवासी नेपालीका सवालमा प्रभावकारी पैरवी गर्न सक्ने संस्थाका रूपमा विकास गर्नु उहाँको मुख्य लक्ष्य रहेको छ ।

६. आगामी चार वर्षका प्रमुख प्रतिबद्धताहरू :

अध्यक्ष पदमा निर्वाचित भएमा आगामी चार वर्षभित्र निम्न प्राथमिकताका आधारमा काम गर्ने थापाको प्रतिबद्धता छ ।

क. संगठन विस्तार तथा सुदृढीकरण

विश्वभर सदस्यता विस्तार र वृद्धि गर्दै अन्तर्राष्ट्रिय, महादेशीय तथा राष्ट्रिय कमिटीहरूलाई थप व्यवस्थित र सशक्त बनाउने । नयाँ पुस्ता, श्रमिक, व्यवसायी, विद्यार्थी, बुद्धिजीवी तथा विभिन्न पेसामा संलग्न प्रवासी नेपालीहरूलाई संगठनमा जोड्ने ।

ख. नेपालमा आफ्नै भवन निर्माण तथा खरिद

प्रवासी नेपाली मञ्चको आफ्नै भवन खरिद गर्ने र हाल भाडामा सञ्चालन भइरहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गरी संस्थालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने ।

ग. कानुनी दर्ता तथा संस्थागत विकास

अन्तर्राष्ट्रिय, महादेशीय र राष्ट्रिय कमिटीहरूलाई सम्बन्धित देशको प्रचलित कानुनअनुसार दर्ता गर्ने पहल गर्ने । आर्थिक पारदर्शिता, जवाफदेहिता र संस्थागत विश्वसनीयता अभिवृद्धि गर्ने ।

घ. श्रमिक अधिकारको संरक्षण

नेपाल तथा प्रवासमा रहेका श्रमिकहरूको हकहित, उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण, सुरक्षित कार्यस्थल र सम्मानजनक श्रम अधिकारका पक्षमा निरन्तर आवाज उठाउने । सम्बन्धित सरकार, निकाय तथा सरोकारवालासँग प्रभावकारी पैरवी गर्ने ।

ङ .वंशजको नेपाली नागरिकताको निरन्तरता

वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता र त्यससँग सम्बन्धित अधिकारको संरक्षणका लागि नेपाल सरकार, राजनीतिक दल, संसद् तथा नीतिनिर्माण तहमा प्रभावकारी लबिङ र नीतिगत पहल गर्ने ।

च. प्रवासी नेपालीहरूको मतदान तथा नागरिकतासम्बन्धी अधिकार

विदेशमा रहेका नेपाली नागरिकहरूको मतदान अधिकार सुनिश्चित गर्न पहल गर्ने । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा नेपालको लोकतान्त्रिक प्रक्रियामा प्रवासी नेपालीहरूको अर्थपूर्ण सहभागिताका लागि निरन्तर आवाज उठाउने ।

छ. नेपाली भाषा, कला र संस्कृतिको संरक्षण

विदेशमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, कला, साहित्य, संस्कार र संस्कृतिसँग जोड्ने । नेपाली पहिचानको संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, संस्कृति र मौलिकताको प्रवद्र्धन गर्ने ।

ज. प्रवासको ज्ञान, सीप र पुँजी मातृभूमिमा परिचालन

प्रवासमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्ने । प्रवासी नेपालीहरूलाई नेपालमा लगानी गर्न सहज हुने सुरक्षित, पारदर्शी र विभेदरहित नीति तथा कानुनी व्यवस्था निर्माणका लागि पहल गर्ने। उद्यमशीलता र रोजगारी सिर्जनामा प्रवासी नेपालीको योगदान बढाउने ।

झ. युवा नेतृत्व विकास र नयाँ पुस्ताको सहभागिता

नयाँ पुस्तालाई संगठनप्रति आकर्षित गर्दै राजनीतिक तथा सांगठनिक प्रशिक्षण, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने। सक्षम, ऊर्जाशील र जिम्मेवार नयाँ नेतृत्व तयार गर्ने ।

ञ. पारदर्शी, जवाफदेही र संस्थागत संगठन निर्माण

संगठनको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने, नियमित आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गर्ने र नेतृत्वलाई सदस्य तथा संगठनप्रति जवाफदेही बनाउने । विधि, विधान र सामूहिक निर्णय प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

संगठनको एकता, संस्थागत विकास र प्रवासी नेपालीको अधिकार मुख्य प्राथमिकता

प्रभु राम थापाको उम्मेदवारीलाई लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ । विद्यार्थी राजनीतिदेखि ट्रेड युनियन आन्दोलन, प्रवासी संगठन निर्माण र सामाजिक सेवासम्मको यात्रालाई उहाँले आफ्नो नेतृत्वको आधार मान्नुभएको छ ।

आगामी चार वर्षमा संगठन विस्तार, आफ्नै भवन, कानुनी दर्ता, श्रमिक अधिकार, वंशजको नागरिकताको निरन्तरता, प्रवासी नेपालीको मतदान अधिकार र मातृभूमिमा ज्ञान, सीप तथा पुँजी परिचालनलाई प्रमुख कार्यसूची बनाएका थापाले सामूहिक नेतृत्व र संस्थागत एकतामार्फत संगठनलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“व्यक्तिगत स्वार्थभन्दा संगठनको एकता, पदभन्दा जिम्मेवारी र नाराभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिँदै प्रवासी नेपाली मञ्चलाई विश्वभरका प्रवासी नेपालीहरूको भरोसायोग्य साझा संगठन बनाउने मेरो लक्ष्य हो,” भन्ने उहाँको प्रतिबद्धताको मूल सन्देश रहेको छ ।

  • २०८३ कार्तिक १६, आईतवार