• २०८३ कार्तिक १३, बिहीबार
  • 2026 October 29, Thursday

कालीगण्डकीले बंगुर फार्म बगाउँदा र ४६ लाखको क्षति

  • २०८३ कार्तिक १३, बिहीबार

बागलुङ । कालीगण्डकीमा आएको बाढीले बंगुर फार्म बगाउँदा पर्वतको कुश्मा नगरपालिका–१ दमुवाखोलामा व्यावसायिक बंगुरपालन गर्दै आउनुभएका युवा उद्यमी झोकेन्द्र थापा मगरलाई रु ४६ लाखको क्षति पुगेको छ ।

१५ वर्षदेखि बंगुरपालन व्यवसाय गर्दै आउनुभएका थापाको असोज ११ गते बिहान आएको बाढीले फार्मको संरचनासहित १२० वटा साना–ठूला बंगुर बगाएको हो । फार्मको संरचनामा रु १६ लाख र बंगुरमा रु ३० लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

बागलुङको बरेङ गाउँपालिका–२ हुग्दिशिर घर भएका थापाले दमुवाखोलामा हिमचुली बंगुर फार्म सञ्चालन गर्दै आउनुभएको थियो । बंगुरको व्यावसायिक उत्पादनसँगै मासुको बजारीकरणसमेत गर्दै आउनुभएका उहाँले बागलुङ बजारमा मासु पसलसमेत सञ्चालन गर्नुभएको थियो ।

“१५ वर्षदेखिको व्यावसायिक इतिहास क्षणभरमै बगर बन्यो । फार्मको आम्दानीबाट घर बनाउन थालेको थिएँ, बाढीले बंगुरसँगै मेरा सपना पनि बगायो,” थापाले भन्नुभयो, “अहिले फार्म सञ्चालन गर्ने ठाउँसमेत छैन ।”

बिहान करिब ५ बजे आएको बाढीले तीन चरणमा रहेका खोरमध्ये पहिलो खोर बगाइसकेको थियो । उज्यालो हुँदै जाँदा आफ्नै आँखाअगाडि वर्षौँको मेहनत बगिरहेको देख्नुपरेको उहाँले सुनाउनुभयो ।

बाढीमा बगेका १२० बंगुरमध्ये पाँच वटा मालढुङ्गामा जीवितै फेला परेका थिए । अहिले १२ वटा पाठापाठी मात्र बाँकी रहेको थापाले बताउनुभयो । “बाख्रा र भैँसी भएको भए बाढी आउँदै गर्दा सुरक्षित ठाउँमा लैजान सकिन्थ्यो, तर बंगुरलाई त्यसरी बचाउन सकिएन,” उहाँले भन्नुभयो ।

कालीगण्डकीले २५ मिटरभन्दा बढी जमिन कटान गर्दा फार्म बगाएको हो । फार्ममा आश्रित परिवारको जीविकोपार्जनको आधारसमेत बाढीले नष्ट गरेपछि थापा अहिले पुनः व्यवसाय सञ्चालन गर्ने अन्योलमा हुनुहुन्छ ।

  • २०८३ कार्तिक १३, बिहीबार