• २०८३ कार्तिक १२, बुधबार
  • 2026 October 28, Wednesday

बागलुङमा २० हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बागलुङ । बागलुङ जिल्लामा २० हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । जिल्लाका १० स्थानीय तहका कुल २० हजार ३४८ बालबालिकालाई यही कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरिने भएको हो ।

प्रत्येक वडामा स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।
हरेक वर्षमा दुई पटक भिटामि ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहने गरेको र कात्तिकको पहिलो हप्ता खुवाउने कार्यतालिका रहने गरेकोमा यसपटक दशैँको कारण पछि सरेको प्रमुख शर्माले जानकारी दिनुभयो । भिटामिन ए छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । जुकाको औषधि भने १८ हजार चार सय २२ बालबालिकालाई खुवाईने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।

“बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषणको महत्त्वपूर्ण भूमिका रहन्छ ,भिटामिन ‘ए’ खुवाउन आवश्यक छ, बालबालिकालाई पोषणको कमीबाट जोगाउन तथा उनीहरूको स्वास्थ्य र विकासमा सहयोग पु¥याउन यो कार्यक्रम सञ्चालन गर्ने गरिनछ” शर्माले भन्नुभयो ।

जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा धेरै ३ हजार ७६५ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ । त्यस्तै, ढोरपाटन नगरपालिकामा ३ हजार ३५७, बडिगाड गाउँपालिकामा २ हजार ७१६, निसीखोला गाउँपालिकामा २ हजार ३६१, गलकोट नगरपालिकामा २ हजार २२२ र जैमिनी नगरपालिकामा १ हजार ९२९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ ।

यसैगरी, काठेखोला गाउँपालिकामा १ हजार ५७३, तमानखोला गाउँपालिकामा ८६८, बरेङ गाउँपालिकामा ८०१ र ताराखोला गाउँपालिकामा ७५६ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ ।