बागलुङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा राजनीतिक सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलहरु आगामी स्थानीय चुनाव लक्षित अभियानमा केन्द्रीत हुन थालेका छन् । निर्वाचनलाई लक्षित गर्दै वडा तथा पालिकाको नेतृत्वका लागि दावेदारी प्रस्तुत हुन थालेको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिकास्तरमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएसँगै धौलागिरिकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाको प्रमुखमा नेपाली सेनाका पूर्व सैनिक (सेनानी) रोशन कार्कीले दाबी प्रस्तुत गर्नुभएको छ । रास्वपा बागलुङ नगर सभापतिसमेत रहनुभएका कार्कीले सामाजिक सञ्जालमार्फत नगर प्रमुखमा आफ्नो दावेदारी सार्वजनिक गर्नुभएको हो ।
नेपाली सेनामा दुई दशकभन्दा बढी समय सेवा गरेर सेनानी दर्जाबाट अवकाश प्राप्त गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ नगर सभापति रोशन कार्कीले बागलुङ नगरपालिकाको प्रमुख बन्ने आकांक्षा अघि सारेसंगै राजनीतिक वृतमा बागलुङको राजनीतिक माहोल तातिन थालेको छ ।
सैन्य सेवामा हासिल गरेको नेतृत्व, अनुशासन र व्यवस्थापनको अनुभवलाई स्थानीय सरकार सञ्चालनमा उपयोग गर्ने लक्ष्यसहित नगरको नेतृत्वका लागि तयारीमा जुटेको कार्कीले आदर्शसञ्चारलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–८, सिगानाका कार्कीले २०६० देखि २०८१ सालसम्म नेपाली सेनामा रहेर सेवा गर्नु भएको थियो । गुल्म, गण, शिक्षालय, बाहिनी तथा सैनिक मुख्यालयका विभिन्न जिम्मेवारीमा काम गरेका कार्कीले अवकाशपछि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रियता बढाउनु भएको छ ।
सेनाको अनुभव, नगरको नेतृत्व गर्ने आकांक्षा
कार्कीको बुझाइमा नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी स्वीकार गर्दै नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो । सेनामा रहँदा सिकेको अनुशासन, समय व्यवस्थापन, टोली परिचालन र परिणाममुखी कार्यशैलीलाई नगरको विकास र सुशासनमा उपयोग गर्न सकिने उहाँको विश्वास छ ।
बागलुङ नगरको भावी विकासका लागि शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रबीच सन्तुलित विकास, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा, कृषि र पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, व्यवस्थित पूर्वाधार, पारदर्शिता र विपद् पूर्वतयारीलाई प्राथमिकतामा राख्ने गरी तयारी गरेको कार्कीले बताउनु भएको छ ।
नागरिकका आवश्यकता र सुझावका आधारमा योजना निर्माण गर्ने, सार्वजनिक स्रोतको पारदर्शी उपयोग गर्ने र विकासका कामलाई स्पष्ट लक्ष्य तथा परिणामसँग जोड्ने विषयलाई महत्व दिएको उहाँले बताउनुभयो ।
संगठन विस्तारदेखि निर्वाचन परिचालनसम्म
आफ्ना स्वर्गीय बुबा रेशमबहादुर कार्कीको समाजसेवाबाट प्रेरित भएर राजनीतिमा प्रवेश गरेका कार्कीले छोटो समयमै संगठन विस्तारमा सक्रियता देखाएको बताउनु भएको छ । राजनीतिक यात्राको सुरुवाती चरणमै सिगानामा १५० जनालाई रास्वपामा प्रवेश गराउन भूमिका खेलेको र प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिको संयोजकका रूपमा काम गरेको उहाँले बताउनुभयो ।
हाल नगर सभापतिको जिम्मेवारीमा रहेका कार्कीले इन्जिनियर, स्वास्थ्यकर्मी, शिक्षक, विपद् व्यवस्थापनसम्बन्धी विज्ञ, अर्थशास्त्री तथा समाजका प्रतिष्ठित व्यक्तिहरूलाई समेटेर विज्ञ टोली बनाउने र नगरका समस्या अध्ययन गरी भावी कार्ययोजना तयार गर्ने तयारी गरिरहेको जनाउनु भएको छ ।
बागलुङ नगरपालिकाको नेतृत्वका लागि उहाको आकांक्षाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरको विकास, सुशासन र नेतृत्व क्षमताबारे बहसलाई अघि बढाउने देखिन्छ । तर, नगर प्रमुखको उम्मेदवार बन्ने औपचारिक निर्णय, पार्टीको आन्तरिक प्रक्रिया र अन्तिम उम्मेदवारी भने सम्बन्धित राजनीतिक प्रक्रियाबाट टुंगिनेछ ।
पूर्व सैनिक अधिकृतको अनुभवलाई स्थानीय सरकारको नेतृत्वसँग जोड्ने कार्कीको प्रयास सफल हुन्छ वा हुँदैन भन्ने कुरा कार्कीको राजनीतिक तयारी, पार्टीको निर्णय र मतदाताको विश्वासमा निर्भर रहनेछ ।