बागलुङ । गत असोज ११ गते निसीखोलामा आएको बाढीबाट क्षति पुगेको निसीखोला गाउँपालिका–४मा रहेको बोहरागाउँ लिटिल रोज बोर्डिङ स्कुललाई प्याब्सन बागलुङले चार लाख ७८ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बाढीका कारण विद्यालय पूर्णरुपमा क्षति पुगेपछि पठनपाठन सञ्चालन गर्न चुनौती थपिएको थियो । विद्यालय सञ्चालनमै कठिनाइ भइरहेका बेला प्याब्सन बागलुङले आर्थिक सहयोग गरेपछि विद्यालय पुनः सञ्चालन गर्न तथा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सहयोग पुगोस् भन्दै सहयोग गरेको प्याब्सन बागलुङका अध्यक्ष दल थापाले जानकारी दिनुभयो ।
प्याब्सनले जिल्ला भर रहेका २९ वटा सदस्य विद्यालयबाट आर्थिक संकलन गरेर विद्यालयलाई सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । “सामाजिक उत्तरदाईत्व अन्र्तगत हामीले यसअगाडी पनि विभिन्न ठाउँमा साहयोग गरेका थियोँ अहिले पनि सहयोग गरेका हौँ ”अध्यक्ष थापाले भन्नुभयो । प्याब्सनले एक लाख बराबरको जिन्सी सामग्री समेत विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुग्दा विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएको थियो । यस्तो कठिन परिस्थितिमा प्राप्त आर्थिक सहयोगले विद्यालयलाई पुनः सञ्चालन गर्ने प्रयासमा महत्वपूर्ण टेवा पुगेको विद्यालयका प्रिन्सिपल प्रेम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।