• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday

तमानखोलाका २४ बाढी–पहिरो पीडितको घरमै पुग्यो राहत

  • २०८३ कार्तिक ३, सोमबार

बागलुङ !

बाढी र पहिरोका कारण आफन्त गुमाएका तथा विस्थापित भएका तमानखोला गाउँपालिकाका २४ पीडित परिवारलाई घरमै राहत सामाग्री पु¥याइएको छ ।

आवश्यक लत्ताकपडादेखि खाद्यन्न गरी रु.३ लाख ८० हजार बराबरको राहत सामग्री प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष तथा धौलागिरी जागरण दैनिकका सम्पादक सिर्जना पन्तको पहलमा विभिन्न व्यक्त तथा संघ संस्थाबाट संकलन गरिएको राहत सामग्री गाउँपालिका मार्फत बाढी–पहिरो पीडितलाई घरमै पुगेर राहत हस्तान्तरण गरिएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा तमानखोला गाउँपालिकाका ९ जना बेपत्ता भएका थिए । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । बाढीमा बेपत्ता भएकाहरूको परिवारको आर्थिक अवस्था कमजोर रहेको र कतिपय परिवारका सदस्यको जीविकोपार्जन नै उनीहरूमा निर्भर रहेको विषयलाई समाचारमार्फत उजागर गर्दै पत्रकार पन्तले सहयोगका लागि अपिल गर्नुभएको थियो ।

सहयोग संकलन भइरहेकै समयमा असोज ११ गते तमानखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको थियो । पहिरोमा परी ५ जनाको ज्यान गएको थियो भने १६ घरपरिवार विस्थापित भएका थिए । त्यसपछि संकलित राहत सामग्रीलाई बाढीमा बेपत्ता भएका परिवार तथा पहिरोबाट प्रभावित परिवारलाई वितरण गर्ने गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको सामाग्री गाउँपालिकाले घर–घरमै पु¥याइएको छ ।

पत्रकार पन्तले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले बाढीमा बेपत्ता भएका परिवार र पहिरोबाट विस्थापित परिवारको अवस्था कमजोर भएकाले राज्यसँगै नागरिकस्तरबाट पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राहत सामग्रीमा सय बोरा चामल, २४ लिटर तेल, २५ केजी चिनी, चियापत्ती, चाउचाउ, साबुन, ओछ्याउने डसना तथा लगाउने कपडालगायत रु.तीन लाख ८० हजार बराबरको दैनिक उपभोग्य सामग्री प्राप्त गरी २४ घरपरिवारलाई गाउँपालिकाले घरमै पुगेर प्रदान गरिएको सहायक प्रशासकीय अधिकृत तथा विपद् व्यवस्थापन फोकल पर्सन मुना विश्वकर्माले जानकारी दिनुभयो ।

  • २०८३ कार्तिक ३, सोमबार