सम्पादकीय । नेपाली समाज विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध छ । यही विविधताभित्रको एकता र सहिष्णुता नेपाली समाजको मौलिक पहिचान हो । विजया दशमी, दीपावली, छठलगायतका चाडपर्वले यही पहिचानलाई जीवन्त बनाउँदै परिवार, आफन्त र समुदायलाई आपसमा जोड्ने काम गर्छन् । यतिबेला प्रमुख चाडपर्वको रौनक सुरु भएको छ । चाडपर्वले घरपरिवारमा खुसी, समाजमा सद्भाव र जीवनमा नयाँ उत्साह थपून् भन्ने सबैको अपेक्षा छ । चाडपर्व केवल धार्मिक आस्था र परम्परा निर्वाह गर्ने अवसर मात्र होइनन्, यी सामाजिक सम्बन्ध सुदृढ गर्ने, आपसी मनमुटाव बिर्सने, मान्यजनबाट आशीर्वाद लिने र नयाँ पुस्तालाई संस्कार तथा संस्कृतिसँग जोड्ने महत्वपूर्ण माध्यम पनि हुन् । विजया दशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । दीपावलीले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरित गर्छ भने छठ पर्वले प्रकृति, सूर्य र जलप्रतिको सम्मान तथा आस्थालाई उजागर गर्छ । यी पर्वका मूल सन्देशलाई व्यवहारमा उतार्न सकियो भने चाडपर्वको महत्व अझ बढ्नेछ ।
तर चाडपर्वको खुसीसँगै केही चुनौती पनि जोडिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि, कृत्रिम अभाव, कालोबजारी, गुणस्तरहीन सामग्रीको बिक्री र यातायातमा मनपरी भाडा असुलीजस्ता समस्या दोहोरिने गरेका छन् । चाडपर्वलाई कमाउने अवसरका रूपमा लिने प्रवृत्तिले सर्वसाधारणको खुसीमा बाधा पु¥याउनु हुँदैन । सम्बन्धित सरकारी निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्नुपर्छ । यातायात व्यवसायीले उचित भाडा र सुरक्षित यात्राको व्यवस्था गर्नुपर्छ भने यात्रुहरूले पनि क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमा यात्रा नगर्ने र ट्राफिक नियम पालना गर्ने विषयमा सचेत हुनुपर्छ । चाडपर्वको अर्को महत्वपूर्ण पक्ष शान्ति सुरक्षा हो । घरपरिवारका सदस्यहरू गाउँघर वा आफन्तकहाँ जाने, बजारमा भीड बढ्ने र आर्थिक कारोबारसमेत बढ्ने समयमा चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधिको जोखिम रहन्छ । प्रहरीले सुरक्षा गस्ती, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ । नागरिकले घर छाड्दा सुरक्षाको उचित प्रबन्ध गर्ने, अपरिचित व्यक्तिप्रति सचेत रहने र शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउने गर्नुपर्छ ।
त्यस्तै, चाडपर्वका नाममा जुवातास, मदिराको अनियन्त्रित सेवन, घरेलु हिंसा, अनावश्यक खर्च र देखासिकी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ । पटका तथा विस्फोटक पदार्थको प्रयोग, आगलागी र सडक दुर्घटनाबाट जोगिन विशेष सावधानी अपनाउनुपर्छ । पशुबलि तथा अन्य धार्मिक गतिविधि सञ्चालन गर्दा प्रचलित कानुन, सार्वजनिक सुरक्षा र मानवीय संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ । चाडपर्वको खुसी कसैका लागि पीडा, भय वा आर्थिक बोझ बन्नु हुँदैन । चाडपर्वलाई थप अर्थपूर्ण बनाउन विपन्न, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पनि खुसीमा सहभागी गराउनुपर्छ । विदेशमा रहेका नेपालीदेखि गाउँघरमै रहेका परिवारसम्म सबैलाई जोड्ने माध्यमका रूपमा चाडपर्वलाई उपयोग गर्न सकिन्छ । स्थानीय उत्पादनको प्रयोग, स्वदेशी वस्तुको उपभोग र मितव्ययी खर्चले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउँछ । परम्पराको संरक्षण गर्दै अनावश्यक खर्च र विकृतिलाई त्याग्नु आजको आवश्यकता हो । अन्त्यमा, विजया दशमी, दीपावली, छठलगायतका सम्पूर्ण चाडपर्वले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भावको सञ्चार गरून् । चाडपर्व औपचारिक शुभकामना र क्षणिक रमाइलोमा मात्र सीमित नरही सामाजिक एकता, सहिष्णुता, जिम्मेवारी र सकारात्मक परिवर्तनका प्रेरक बनून् । सबैले सुरक्षित, मर्यादित, मितव्ययी र उल्लासपूर्ण रूपमा चाडपर्व मनाऔँ । सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा देशविदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना !