• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

श्रमशक्ति निर्यात गरेर समृद्धिको सपना कहिलेसम्म ?

  • २०८३ आश्विन २७, मंगलवार

सम्पादकीय । देशको उन्नति मापन गर्ने आधार युवाहरू कति विदेश गए भन्ने होइन, आफ्नै देशमा कति युवाले सम्मानजनक रोजगारी पाए भन्ने हो । उत्पादन गर्ने हात विदेश पठाएर उपभोग गर्ने वस्तु विदेशबाटै किनिरहने अर्थतन्त्रले कहिलेसम्म समृद्धिको सपना देख्न सक्छ ? देशका खेतबारी बाँझै राखेर, उद्योगधन्दा चलाउने जनशक्ति अभाव बनाएर र दैनिक उपभोग्य वस्तुसमेत आयात गरेर आत्मनिर्भर बन्ने कल्पना गर्नु आफैँमा विरोधाभास हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब तीन हजार पाँच सय युवा देश छाडिरहेको समाचारले यही गम्भीर प्रश्न उठाएको छ । विदेश जाने सबैको अवस्था र उद्देश्य एउटै छैन । कोही उच्च शिक्षा, अवसर र अनुभवका लागि विदेश जान्छन् भने कोही रोजगारी र राम्रो आम्दानीको खोजीमा । तर परिवारको सामान्य आवश्यकता पूरा गर्न, ऋण तिर्न र छोराछोरीको भविष्य बनाउन बाध्य भएर जन्मभूमि छाड्नुपर्ने अवस्था देशको अर्थतन्त्रका लागि सुखद संकेत होइन ।

विदेश जाने युवाको हातमा राहदानी र भिसा हुन्छ, तर मनमा अनेकौँ बाध्यता हुन्छन् । कसैलाई बूढा आमाबुबाको औषधोपचारको चिन्ता छ, कसैलाई छोराछोरीको शिक्षाको । कसैलाई बैंकको ऋण तिर्नु छ, कसैलाई परिवारको चुलो बाल्नु छ । गाउँमा काम नपाउने, खेतीबाट पर्याप्त आम्दानी नहुने, उद्योग खोल्न पुँजी र सहुलियतपूर्ण ऋण नपाइने तथा योग्यताअनुसारको रोजगारी नपाउने अवस्थाले युवालाई विदेशिन बाध्य बनाएको छ । यो केवल व्यक्तिगत निर्णय होइन, देशभित्र अवसर सिर्जना गर्न नसकिएको अवस्थाको संकेत पनि हो । विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ । विदेशमा काम गर्ने नेपालीले पठाएको रकमले परिवारको जीवनस्तर सुधार्न, शिक्षा र स्वास्थ्यमा खर्च गर्न तथा विदेशी मुद्रा सञ्चिति कायम राख्न सहयोग गरेको छ । यसलाई अवमूल्यन गर्न मिल्दैन । तर विप्रेषणले मात्रै दीर्घकालीन आत्मनिर्भरता सुनिश्चित गर्दैन । विदेशमा श्रम बेचेर आएको रकमबाट विदेशमै उत्पादित खाद्यान्न, लत्ताकपडा, औषधि, उपकरण र अन्य उपभोग्य वस्तु किनिरहने हो भने अर्थतन्त्रको ठूलो हिस्सा उत्पादनभन्दा उपभोगमै निर्भर रहन्छ ।

समस्या युवाहरू विदेश जानु मात्र होइन, उनीहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन नसक्नु हो । श्रमशक्ति विदेश पठाउने तर स्वदेशमा उत्पादन बढाउन आवश्यक जनशक्ति, प्रविधि र लगानी परिचालन गर्न नसक्ने अवस्थाले विकासको गति कमजोर बनाउँछ । कृषि क्षेत्रमा मल, बीउ, सिँचाइ र बजारको समस्या छ । उद्योगमा लगानीको जोखिम, प्रशासनिक झन्झट र बजार प्रतिस्पर्धाका चुनौती छन् । उद्यम गर्न चाहने युवाले सहज ऋण, प्राविधिक सहयोग र बजारको सुनिश्चितता पाउन सकेका छैनन् । यस्तो अवस्थामा युवालाई देशमै बस्न आह्वान गरेर मात्र हुँदैन, बस्न सक्ने आधार पनि तयार गर्नुपर्छ । नेपालमा सम्भावना नभएका होइनन् । जलस्रोत, कृषि, पर्यटन, जडीबुटी, वनजन्य उत्पादन, निर्माण, सूचना प्रविधि र साना तथा मझौला उद्योगमा रोजगारी सिर्जना गर्न सकिन्छ । स्थानीय उत्पादनलाई प्रशोधन, ब्रान्डिङ र बजारसँग जोड्न सके गाउँमै आयआर्जनका अवसर बढाउन सकिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, पुँजी र अनुभवलाई स्वदेशी उत्पादनमा लगाउने नीति आवश्यक छ । शिक्षा प्रणालीलाई पनि प्रमाणपत्र वितरणमा मात्र सीमित नराखी सीप, उद्यमशीलता र बजारको मागसँग जोड्नुपर्छ । सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई नारामा होइन, व्यवहारमा उतार्नुपर्छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कृषि उपजको उचित मूल्य, लगानीमैत्री वातावरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा तथा पारदर्शी प्रशासन सुनिश्चित गर्नुपर्छ । स्थानीय तहले आफ्नो क्षेत्रका स्रोत, सीप र सम्भावना पहिचान गरी रोजगारी सिर्जना गर्ने योजना बनाउनुपर्छ ।
युवालाई विदेश जानबाट रोक्नु समाधान होइन; विदेश जानुपर्ने बाध्यता घटाउनु समाधान हो । विदेश जाने अवसर रोजाइ बनोस्, विवशता होइन । श्रम निर्यात गरेर प्राप्त विप्रेषणलाई उत्पादन, उद्योग र उद्यममा लगाउन सके मात्रै त्यसले दीर्घकालीन समृद्धिको आधार तयार गर्छ । देशको समृद्धि विमानस्थलको प्रस्थान द्वारमा लाम लागेको युवाको संख्याले होइन, स्वदेशमै पसिना बगाएर भविष्य बनाउन पाएको युवाको संख्याले मापन हुनुपर्छ ।

 

  • २०८३ आश्विन २७, मंगलवार