बागलुङ । विजयादशमी तथा बडादसैँको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल, गुल्म बागलुङले कालिका भगवती मन्दिर परिसरमा सरसफाइ गरेको छ ।
घटस्थापनाको दिन आइतबार बिहान सशस्त्र प्रहरी बलको गुल्म बागलुङबाट खटिएको टोलीले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिका भगवती मन्दिर परिसरमा सरसफाइ गरेको हो । मन्दिर परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा २० जना सशस्त्र प्रहरी सहभागी भएका थिए ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर केसीको नेतृत्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरीहरूले मन्दिर परिसर र आवतजावत गर्ने पदमार्ग आसपासको क्षेत्रमा सरसफाइ गरेका थिए । उनीहरूले झाडु लगाएर परिसर सफा गर्नुका साथै धार्मिक स्थलको स्वच्छता कायम राख्न योगदान पुर्याएका थिए ।

बडादसैँको सुरुवातसँगै कालिका भगवती मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको चहलपहल बढ्ने गर्दछ । यस्तो समयमा मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्न गरिएको सरसफाइले धार्मिक स्थलको स्वच्छता र सौन्दर्य कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको कालिका भगवती मन्दिर बागलुङको प्रमुख पहिचानमध्ये एक हो । चाडपर्वका अवसरमा मन्दिरमा आउने भक्तजनलाई स्वच्छ वातावरण उपलब्ध गराउनुका साथै सार्वजनिक स्थलको संरक्षण र सरसफाइप्रति नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
चाडपर्वलाई लक्षित गरी सुरक्षा निकायबाट गरिने यस्ता सामाजिक तथा जनहितका गतिविधिले धार्मिक स्थलको व्यवस्थापन र समुदायसँगको सम्बन्धलाई समेत बलियो बनाउन सहयोग पुग्ने देखिन्छ ।