• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

कांग्रेसको १७ बुदे आचारसंहिता : चुनावमा गठबन्धन नगर्ने ?

  • २०८३ आश्विन २०, मंगलवार

सम्पादकीय । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत १७ बुँदे राजनीतिक आचारसंहिता अघि सारेको छ । अब चुनावमा पूर्वगठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नगर्ने, पैसा र गुटका आधारमा टिकट नदिने, सार्वजनिक नियुक्तिमा भागबन्डा नगर्ने, बिचौलियाको प्रभाव रोक्ने, सदस्यलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागी गराउनेदेखि पार्टीभित्रको असहमतिलाई सम्मान गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ । सुन्दा कांग्रेस साँच्चिकै बदलिन खोजेको देखिन्छ । तर नेपाली राजनीतिमा यतिबेला उठेको स्वाभाविक प्रश्न हो,—गठबन्धन नगर्ने कांग्रेस, गुटचाहिँ नछोड्ने कांग्रेस ? किनकि कांग्रेसको सबैभन्दा ठूलो समस्या अरूसँगको गठबन्धन मात्र होइन, आफ्नैभित्रको गुटबन्दी पनि हो । निर्वाचनमा अरू दलसँग गठबन्धन गरेर आफ्नो चुनावी पहिचान कमजोर बनाएको कांग्रेसले अब आफ्नै चिह्न, आफ्नै संगठन र आफ्नै उम्मेदवारको बलमा चुनाव लड्ने घोषणा गरेको छ । यो सकारात्मक कुरा हो । तर चुनावमा गठबन्धन नगर्ने प्रतिबद्धता गर्दै पार्टीभित्र गुटको गठबन्धन भने कायम राख्ने हो भने त्यसले जनतालाई के फरक पार्छ ? देउवा गुट, शेखर गुट, गगन समूह वा अन्य उपसमूह,—नाम फेरिए पनि यदि निर्णयको आधार विचार होइन, गुटको गणित नै रहिरह्यो भने कांग्रेसको आचारसंहिता कागजमै सीमित हुनेछ । बाहिर गठबन्धन तोडेर भित्र गुटको गठबन्धन बलियो बनाउने कांग्रेसले आफूलाई कसरी नयाँ कांग्रेस भन्न सक्छ ? गुट व्यवस्थापनकै लागि पदाधिकारी सहित केन्द्रीय कार्यसमितिको संख्या बामपन्थीहरुको नेरोघेरोमा पु¥याउने गरी विधान संशोधन गरिदैछ । झट्ट हेर्दा नेता व्यवस्थापन देखिए पनि अन्ततः देउवा गुटबाट आएका नेताहरुलाई व्यवस्थापनका लागि समितिको संख्या बढाइदैछ । जम्बो केन्द्रीय समिति, ठुलो संख्यामा पदाधिकारी हुने भनेको सिमित व्यक्तिले निर्णय गर्ने प्रक्रिया हो भन्ने कुरा अन्य पार्टीका गतिविधिबाट बुझ्न सकिन्छ । यदी मिलाउने नाममा संख्या बढाउदै जाने हो भने कुनै दिन केन्द्रीय कमिटि वैठक बस्न पार्टी प्यालेस पनि साँघुरो हुने अवस्था आउन सक्छ ?

कांग्रेसको अर्को गम्भीर प्रतिबद्धता हो,—पैसा, पहुँच र गुटका आधारमा टिकट नदिने । यो प्रतिबद्धता कार्यान्वयन भयो भने कांग्रेसभित्रको पुरानो टिकट संस्कृतिमाथि ठूलो धक्का लाग्नेछ । तर टिकट वितरणको अन्तिम निर्णय फेरि शीर्ष नेतृत्वको कोठाभित्र हुने हो भने प्राइमरी, योग्यता र योगदानका कुरा केवल राजनीतिक सजावट बन्नेछन् । भ्रष्टाचारका सवालमा पनि कांग्रेसले ठूलो प्रतिबद्धता गरेको छ । आफ्ना नेता वा कार्यकर्ता भ्रष्टाचारको आरोपमा पर्दा पार्टीगत संरक्षण नदिने भनिएको छ । तर यसको वास्तविक परीक्षा विपक्षीमाथि होइन, आफ्नै मान्छेमाथि कारबाही गर्नुपर्ने दिन हुनेछ । लोकतन्त्रको कुरा गर्ने पार्टीले पहिले आफ्नै घरभित्र लोकतन्त्र देखाउनुपर्छ । आलोचना सुन्ने, असहमतिलाई सम्मान गर्ने र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण कांग्रेसभित्र बन्न सकेन भने संसदमा लोकतन्त्रको भाषण गर्नुको अर्थ कमजोर हुन्छ । कार्यकर्तालाई चुनावमा झण्डा बोकाउने, नाराबाजी गराउने र मत माग्न पठाउने तर निर्णयका बेला नेतृत्वले सबै कुरा आफैँ तय गर्ने संस्कार अब बदलिनुपर्छ । १७ बुँदे आचारसंहिताको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो,—यसले कांग्रेसलाई आफ्नै व्यवहारसँग प्रश्न गर्न बाध्य बनाएको छ । अब कांग्रेसले भन्नुपर्ने होइन, देखाउनुपर्ने समय हो । चुनावमा गठबन्धन नगर्ने हो भने आफ्नै संगठन बलियो बनाउनुपर्छ । गुट नमान्ने हो भने टिकट र जिम्मेवारीमा गुटको प्रभाव अन्त्य गर्नुपर्छ । भ्रष्टाचारमा संरक्षण नगर्ने हो भने आफ्नै नेताबाट सुरुवात गर्नुपर्छ । भागबन्डा नगर्ने हो भने नियुक्तिमा योग्यता र क्षमतालाई प्राथमिकता दिनुपर्छ । सदस्यको अधिकार सुनिश्चित गर्ने हो भने कार्यकर्तालाई केवल चुनावी मजदुरका रूपमा हेर्ने संस्कार अन्त्य गर्नुपर्छ । कांग्रेसको पुनर्जागरण अरू दललाई गाली गरेर होइन, आफ्नै कमजोरीमाथि प्रहार गरेर सुरु हुनेछ ।

१७ बुँदे आचारसंहिता कांग्रेसका लागि घोषणापत्रभन्दा पनि आत्मपरीक्षणको दस्तावेज बन्न सक्छ । तर त्यसका लागि नेतृत्वले आफ्नै सुविधा काट्न तयार हुनुपर्छ । गुटका भागबन्डा छोड्नुपर्छ । आफ्ना मान्छेभन्दा योग्य मान्छे रोज्नुपर्छ । आलोचकलाई शत्रु होइन, सुधारको ऐना मान्नुपर्छ । जनताले कांग्रेससँग नयाँ भाषण मागेका होइनन्, नयाँ व्यवहार मागेका हुन् । त्यसैले अब मुख्य प्रश्न ‘कांग्रेसले गठबन्धन गर्छ कि गर्दैन ?’ मात्र होइन । अझ ठूलो प्रश्न हो,—कांग्रेसले गुटसँग गठबन्धन तोड्छ कि तोड्दैन ? यदि बाहिरी गठबन्धन तोडेर भित्री गुटबन्दी जोगाइयो भने कांग्रेस उही पुरानो कांग्रेस हुनेछ । तर गुट, पैसा, पहुँच र संरक्षणको राजनीति तोडेर आफ्नै विचार, संगठन र कार्यकर्ताको बलमा उभिन सक्यो भने १७ बुँदा केवल आचारसंहिता रहने छैनन्—कांग्रेसको राजनीतिक पुनर्जन्मको सुरुवात बन्न सक्छन् । मान्छे फेरिदा, नयाँले नेतृत्व लिदा दलको आन्तरिक संरचना र मुलुकको लोकतान्त्रिक तथा आर्थिक व्यवस्थापनमा सुधार हुदो रैछ, भन्ने सन्देश कांग्रेसले आगामी दिनमा दिन सक्यो भने कांग्रेस मात्रै होइन, अरु दललाई पनि प्रेरणा बन्नेछ ।

  • २०८३ आश्विन २०, मंगलवार