• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

देउसीभैलोको रकम क्यान्सर पीडित तथा घाइतेलाई

  • २०८३ मंसिर २, मंगलवार

बागलुङ । बागलुङको एक सामाजिक संस्थाले देउसी भैलो खेलेर संकलित रकम क्यान्सर पीडित तथा दुर्घटनाका घाइतेलाई प्रदान गरेको छ ।

सुनौलो बागलुङ संस्थाले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रु. एक लाख ५५ हजार रकम क्यान्सर पीडित तथा दुर्घटनाबाट प्रभावित पाँच परिवारका सदस्यलाई प्रदान गरिएको संस्थाका अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।

संस्थाले सामाजिक सेवाको उद्देश्यसहित पाच वर्षदेखि निरन्तर देउसीभैलो कार्यक्रम आयोजना गर्दै परोपकारी क्षेत्रमा खर्चदै आएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न स्थानमा खेलेको देउसीभैलोबाट संकलित रकमले जैमिनी नगरपालिका–१ का क्यान्सरपीडित चन्द्रकला थापा र मनबहादुर सोनमलाई रु.२०÷२० हजार आर्थिक सहयोग गरिएको छ ।

यस्तै, बरेङ गाउँपालिका–१ की सवारी दुर्घटना प्रभावित कुमारी पुनलाई रु.३० हजार, जैमिनी नगरपालिका–३ पौडेलबारी निवासी बोनम्यारो क्यान्सरपीडित टेकबहादुर विकलाई रु.३० हजार र सोही वडाका प्यारालाइसिसपीडित दिलबहादुर छन्त्याललाई रु.२० हजार सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो । यस्तै जैमिनी नगरपालिका–१० का निवासी सवारी दुर्घटनामा परी प्यारालाइसिसबाट प्रभावित एकै परिवारका कृष्णबहादुर घर्ती र धनकली घर्तीलाई रु.३५ हजार सहयोग गरिएको छ ।

अध्यक्ष प्रतेलले देउसीभैलोको रकम परोपरकारी क्षेत्रमा खर्च गर्दै आएको बताउदै रु.एक लाख रकम संस्थाको खातामा रहेको र दुख तथा पीडामा परेकालाई खर्च गर्ने बताउनुभयो ।

  • २०८३ मंसिर २, मंगलवार