• २०८३ कार्तिक ३०, आईतवार
  • 2026 November 15, Sunday

प्रविधिमैत्री शिक्षा विस्तारका लागि प्रभा माविमा महायज्ञ हुँदै 

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।

विद्यालयले यही मंसिर ६ गतेदेखि १३ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको हो । विद्यालयमा स्मार्ट एवम् प्रविधिमैत्री व्यावसायिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित आवश्यक भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिनुभयो ।

प्रधानध्यापक आचार्यका अनुसार हाल विद्यालयमा कक्षा १ देखि १२ सम्म करिब ७५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको संख्या बढ्दै जाँदा विद्यालयमा भौतिक पूर्वाधारको अभाव खड्किँदै गएको उहाँले बताउनुभयो ।

विशेषगरी कक्षा १२ मा विद्यार्थीको चाप बढी भएका कारण सेक्सन विभाजन गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक आचार्यको भनाइ छ । विद्यार्थीको बढ्दो संख्याअनुसार कक्षाकोठा, शैक्षिक सामग्री तथा अन्य आवश्यक संरचनाको व्यवस्थापन गर्नुपर्ने भए पनि विद्यालयसँग पर्याप्त आर्थिक स्रोत नरहेको उहाँले बताउनुभयो । विद्यालयलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै व्यावहारिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्न महायज्ञबाट आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञमार्फत करिब पाँच करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष खिमविक्रम शाहीका अनुसार महायज्ञको तयारीलाई तीव्र पारिएको छ । महायज्ञमा प्रमुख कथावाचकका रूपमा प्रख्यात पण्डित दिनबन्धु पोखरेल रहने उहाँले जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक उन्नयन र भौतिक संरचना निर्माण समुदायको साझा दायित्व भएकाले महायज्ञलाई सफल बनाउन देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, संघसंस्था तथा सम्पूर्ण शुभेच्छुकलाई सहयोगका लागि अध्यक्ष शाहीले आग्रह गर्नुभएको छ ।

महायज्ञबाट संकलित रकम विद्यालयको आवश्यक भौतिक पूर्वाधार निर्माण, प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण विकास तथा व्यावसायिक शिक्षाको विस्तारमा उपयोग गर्ने लक्ष्य राखिएको छ ।