बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा बागलुङका नेता जगदीशचन्द्र उपाध्याय निर्वाचित हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्य खुलातर्फबाट उपाध्याय केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
विशेष महाधिवेशनबाट यसअघि नै केन्द्रीय सदस्य बन्नुभएका उपाध्याय पछिल्लो महाधिवेशनबाट पनि केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका उपाध्यायले नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । त्यसैगरी, उहाँ नेपाली कांग्रेस बागलुङको जिल्ला कार्यसमितिको उपसभापति पनि भइसक्नुभएको छ ।
जिल्ला सभापति पदमा दुई पटक प्रतिस्पर्धा गर्नुभएका उपाध्याय दुवै पटक पराजित हुनुभएको थियो । निर्वाचनमा सफलता प्राप्त गर्न नसके पनि उहाँ कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।
लामो समय जिल्लाको पार्टी राजनीतिमा सक्रिय रहनुभएका उपाध्यायको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै बागलुङ कांग्रेसको केन्द्रीय तहमा प्रतिनिधित्व थपिएको छ । केन्द्रीय कार्यसमितिमा रहेर जिल्लाको संगठन सुदृढीकरण तथा स्थानीय राजनीतिक र विकासका मुद्दालाई पार्टीको राष्ट्रिय तहसम्म पुर्याउन उहाँको भूमिका कस्तो रहन्छ भन्ने चासोसमेत बढेको छ ।