• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

“जिउँदो स्वास त भेटाउन सकेनौँ लास मात्रै भए पनि हेर्न पाए हुन्थ्यो”

“९ गते रातिसम्म फोनमा कुरा भएको थियो,” “त्यसपछि कुरा हुन सकेन ।”
त्यसपछि फोन सम्पर्क हुन छाड्यो । श्रीमान्को खबर नआएपछि दालमायाँको मनमा अनेक प्रश्न उब्जिन थाले । कहाँ छन् ? के भयो ? सकुशल छन् कि छैनन् ? कुनै उत्तर छैन ।

“जिउँदो स्वास त भेटाउन सकेनौँ , लास मात्रै भए पनि हेर्न पाए हुन्थ्यो ” यो भनाई तमानखोला गाउँपालिका–१ हिजाँ निवासी दालमायाँ गोतामेको हो ।

गहभरि आँसु भक्कानिएको स्वर अनि आँखाअगाडि बारम्बार घुमिरहने श्रीमान्को अनुहार रसुवाको भोटेकोशीमा आएको बाढीले श्रीमान् बेपत्ता भएपछि २९ वर्षीया दालमायाँको दिन यसैगरी बितिरहेको छ ।

उनका श्रीमान् ३२ वर्षीय ईन्द्रकुमार गोतामे रोजगारीका लागि रसुवा पुगेका थिए । हाइड्रोपावरमा काम गर्न पुगेका उनी भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता छन् । बाढी आएको लामो समय बितिसक्दा पनि उनको अवस्था अज्ञात छ ।

समय बित्दै जाँदा दालमायाँको मनमा निराशा बढिरहेका छन् । श्रीमान् सकुशल फर्किने आशा अझै मनको कुनामा बाँकी छ । तर, त्यो आशा दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।
“जिउँदो स्वास त भेटाउन सकेनौँ, लास मात्रै भए पनि हेर्न पाए हुन्थ्यो,” दालमायाँ भक्कानिँदै गहभरी आँशु लिएर भन्छिन्, “कम्तीमा उहाँको अवस्था थाहा पाउन पाए मन बुझाउने थिएँ ।”
९ गते रातिसम्म फोनमा कुरा

बाढी आउनुअघि ईन्द्रकुमारसँग अन्तिमपटक ९ गते रातिसम्म फोनमा कुरा भएको दालमायाँ भन्नुहुन्छ । “९ गते रातिसम्म फोनमा कुरा भएको थियो,” “त्यसपछि कुरा हुन सकेन ।”
त्यसपछि फोन सम्पर्क हुन छाड्यो । श्रीमानकाे खबर नआएपछि दालमायाँको मनमा अनेक प्रश्न उब्जिन थाले । कहाँ छन् ? के भयो ? सकुशल छन् कि छैनन् ? कुनै उत्तर छैन ।
श्रीमान्को खोजीका लागि ससुरा र जेठाजु ईन्द्रकुमारलाई खोज्नको लागि बाढीगएको घटनास्थल रसुवामा पनि पुगेका थिए । तर अहिलेसम्म कुनै ठोस खबर आएको छैन ।

दुई छोरीको भविष्यले झन् सताउँछ ।

सात र नौ वर्षकी दालमायाँ र ईन्द्रकुमारका दुई छोरी छन् । आमाका लागि भने उनीहरूको भविष्य अहिले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । “दुई वटा छोरी छन्,” आँसु पुछ्दै दालमायाँ भन्छिन्, “उनीहरूको भविष्य के हुन्छ ? सरकारले सहयोग गरे त हुन्थ्यो ।”
श्रीमान् बेपत्ता भएपछि घरको आर्थिक आधारसमेत कमजोर हुने चिन्ताले उनलाई पिरोलेको छ । छोरीहरूको पढाइ, दैनिक आवश्यकता र भविष्यको जिम्मेवारी सम्झिँदा उनी झन् भावुक हुन्छिन् । श्रीमान् फर्किने आशामा बसेकी दालमायाँका लागि अहिले कुनै ठूलो चाहना छैन । उनलाई यति मात्रै थाहा पाउनुछ—ईन्द्रकुमार कहाँ छन् ?
सकुशल छन् भने फर्केर आऊन् भन्ने उनको प्रार्थना छ । यदि त्यो सम्भव छैन भने पनि कम्तीमा श्रीमान्को शव भेटियोस् र अन्तिमपटक अनुहार हेर्न पाइयोस् भन्ने उनको पीडादायी चाहना छ ।भोटेकोशीको बाढीले तमानखोला गाउँपालिकाका थुप्रै परिवारलाई पीडामा पारेको छ । रोजगारीका लागि घरबाट टाढा गएका उनीहरूका आफन्तको अवस्थाबारे परिवार अझै अनिश्चिततामा छन् । हरेक दिन बित्दै जाँदा त्यो आशासँगै पीडा पनि गहिरिँदै गएको छ । तमानखोला गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका नौ जना बेपत्ता छन् । बेपत्ताको खोजीको लागि तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको नेतृत्वमा रसुवामा पुगेको थियो । बेपत्ता सबैको अवस्था अज्ञात रहेको छ ।