बागलुङ । निवृत्त राष्ट्रसेवक समाज नेपाल बागलुङको अध्यक्षमा सुरेन्द्रबहादुर थापा चयन हुनुभएको छ ।
दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा टीकाराम शर्मा, सचिवमा ईश्वरप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा नरप्रसाद शर्मा, सहसचिवमा रविप्रसाद शर्मा, सदस्यहरूमा टेकबहादुर बस्नेत, पदमबहादुर अखेली र कपुरजंग राजभण्डारी चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा लक्ष्मणकुमार श्रेष्ठ, कमलकुमार जि.सी. र रत्न खड्का चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन निवृत्त राष्ट्रसेवक समाज नेपालका केन्द्रीय उपाध्यक्ष हिराबहादुर केसीले गर्नुभएको थियो ।
सेवानिवृत्त जीवन पनि समाज र राष्ट्रकै हितका लागि खर्चिरहेको भन्दै केसीले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा केन्द्रीय सदस्य गोविन्दप्रसाद पौडेल, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रअ छविरमण शर्मा रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा कोषाध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशन अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष भीमा अधिकारीको स्वागत तथा सचिव सुरेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।