बागलुङ। जिल्ला सदरमुकाम बागलुङ बजारमा खाद्य वस्तुको अनुगमन गरिएको छ ।
खाद्य वस्तुको गुणस्तर परीक्षण तथा मिसावट नियन्त्रणका लागि गरिएको अनुगमनमा केही पसलमा दूध र घिउमा शङ्कास्पद गुणस्तर भेटिएको छ ।
१३ पसलबाट दूध, घिउ, मह र तेल गरी १९ वटा नमूना संकलन तथा परीक्षण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल काठमाडौंको टोलीले प्रयोगशालासहितको मोबाइल भ्यानमार्फत घुम्ती अनुगमन गरेको थियो । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य वस्तुको गुणस्तर, मिसावट तथा मापदण्डको अवस्था परीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा कार्की किराना पसलमा बिक्रीका लागि राखिएको दूधको नमूना परीक्षण गर्दा फ्याटको मात्रा ३.५ प्रतिशत हुनुपर्नेमा २.६ प्रतिशत मात्र पाइएको छ । दूधमा पानी मिसाइएको आशङ्का भएपछि बिक्रीमा राखिएको दुई लिटर दूध तत्काल हटाउन र बिक्री नगर्न निर्देशन दिइएको छ । त्यस्तै, झुलेनी दुग्ध डेरी पसलमा रहेको घिउ परीक्षण गर्दा रिफ्राक्टिभ इन्डेक्स मापदण्डभन्दा बढी पाइएको छ । घिउमा अन्य चिल्लो पदार्थ मिसावट गरिएको आशङ्का भएपछि पसलमा रहेको २० किलो घिउ रोक्का राखिएको छ । थप परीक्षण गरी मिसावट पुष्टि भए÷नभएको यकिन गर्न नमूना काठमाडौं पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख सुमन लामिछानेले जानकारी दिनुभयो ।
अनुगमन टोलीले बजारमा बिक्री भइरहेका खाद्य वस्तुको गुणस्तर कायम राख्न व्यवसायीलाई सचेत गराउँदै उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी मिसावट तथा गुणस्तरहीन वस्तु बिक्री नगर्न निर्देशन दिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम विश्वकर्मा तथा पोखराबाट आएका अनुगमन टोलीका सदस्य विजन श्रेष्ठ, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायत सहभागी थियो ।
