मुस्ताङ । मुस्ताङको उत्तरी नाका हुँदै चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् । चीनसँगको व्यापारिक नाका कोरलाबाट हुने आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयले उल्लेख्य राजस्व संकलन गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा ३० अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् । सोही अवधिमा २९ करोड ५२ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । यसरी आयात र निर्यात गरी कुल ३० अर्ब ३८ करोड रुपैयाँ बराबरको मालवस्तु यस भन्सार नाकाबाट कारोबार भएको कार्यालयले जनाएको छ ।
वस्तु आयात तथा निर्यातबाट सरकारले १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व आम्दानी गरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी अविन्द्र सिंहका अनुसार चार महिनाको अवधिमा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
उनका अनुसार चाडपर्वलाई लक्षित गरी विभिन्न सामग्रीको आयात अत्यधिक बढ्दा राजस्व संकलनमा पनि वृद्धि भएको हो । दसैँ, तिहारलगायतका चाडपर्वका लागि आवश्यक सामग्री आयात हुने क्रम बढेकाले भन्सार राजस्वमा उल्लेख्य योगदान पुगेको उनले बताए ।
चाडपर्वको समयमा दैनिक ३० करोडदेखि ४५ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेको थियो । तर, चाडपर्व सकिएसँगै आयातको परिमाण घट्ने र त्यसअनुसार राजस्व संकलन पनि कम हुँदै जाने सिंहले जानकारी दिए ।