बागलुङ । महिला हित सहकारी संस्था बागलुङ र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त आयोजनामा बागलुङ नगरपालिका–७ मुलपानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८२ महिला लाभान्वित भएका छन् । जसमध्ये ६० महिलाको पाठेघरको मुखको क्यान्स समेत परिक्षण गरिएको थियो ।
महिला हित सहकारी संस्थाको रजत वर्षका अवसरमा आयोजित शिविरमा स्थानीय महिलाको स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षणका क्रममा १८ महिलामा पाठेघरसँग सम्बन्धित समस्या देखिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका ६० महिलामध्ये १८ जनामा समस्या देखिएको हो । महिलामा देखिएका स्वास्थ्य समस्याको पहिचान गरी समयमै उपचार तथा परामर्शको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणका अतिरिक्त महिलाको रक्तचाप तथा मधुमेह परीक्षणसमेत गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आवश्यक परामर्श दिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । गाउँघरमा नियमित स्वास्थ्य परीक्षण गराउन नपाएका महिलालाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएका छन् ।
शिविरको बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मेघनाथ गैरेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पूर्ववडाध्यक्ष खगराज पाण्डेय, महिला हित सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्कालगायतले सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत महिलाको स्वास्थ्यलाई प्राथमिकता दिएर शिविर आयोजना गरिएको बताउनुभएको थियो ।
स्वास्थ्य शाखा प्रमुख खनालको नेतृत्वमा सञ्चालित शिविरमा जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्मा, जनस्वास्थ्य अधिकृत कञ्चन तिमिल्सिना, वरिष्ठ सामुदायिक नर्सिङ निरीक्षक माधवी शर्मा तथा स्वास्थ्यकर्मी राधा राना, शान्ता शर्मा, उमा केसी र आस्था केसीलगायतको सहभागिता रहेको थियो ।
महिला हित सहकारी संस्थाले रजत वर्षका अवसरमा तीनदिने कार्यक्रम आयोजना गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत महिलाको स्वास्थ्य परीक्षण तथा सचेतना अभिवृद्धिलाई प्राथमिकता दिँदै स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।