• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

बागलुङ पश्चिमका चार पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • २०८३ आश्विन २३, शुक्रबार

बागलुङ । नेपाल सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट अपूरणीय धनजनको क्षति पुगेका बागलुङका विभिन्न स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

बाढीपहिरोले ठूलो क्षति पु¥याएका क्षेत्रको पुनर्निर्माण र राहत वितरणलाई तीव्र बनाउने उद्देश्यले सरकारले जिल्लाका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चाका अनुसार बागलुङको बडिगाड गाउँपालिका, , ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

गत असोज ११ गते आएको बाढीपहिरोमा परी बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा निसीखोला गाउँपालिकाका ५ जना, तमानखोला गाउँपालिकाका ५ जना र ताराखोला गाउँपालिकाका ३ जना रहेका छन् । यस्तै बडिगाड गाउँपालिकामा हावाहुरीका कारण सयौ घरको छाना उडाएको छ ।

बाढीपहिरोका कारण सबैभन्दा बढी क्षति निसीखोला गाउँपालिकामा भएको छ । प्रारम्भिक विवरण अनुसार यस पालिकामा मात्रै करिब ३९ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ । त्यसैगरी, बाढीले गाउँपालिकाभित्रका विद्युत आयोजना, नहर, पुल, विद्यालय भवन तथा आधारभूत अस्पतालमा समेत ठूलो क्षति पु¥याएको छ ।

सरकारले यी क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब प्रभावित क्षेत्रमा पुनरुत्थान, राहत वितरण र भौतिक संरचना पुनर्निर्माणको कामले गति लिने बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।

  • २०८३ आश्विन २३, शुक्रबार