बागलुङ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, कालोबजारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी र गस्तीलाई तीव्रता दिएको हो ।
जिल्लाभर शान्ति सुरक्षा कायम गर्न ४३३ जना प्रहरी परिचालन गरिएको छ भने १०७ स्थानमा सिसीटिभी क्यामरामार्फत निगरानी गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार बागलुङ बजारमा ५१, गलकोटमा ४४ र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा १२ वटा सिसीटिभी क्यामरामार्फत निगरानी गरिनेछ ।
चाडपर्वका समयमा बजार क्षेत्रमा मानिसको चहलपहल बढ्ने, आर्थिक कारोबारमा वृद्धि हुने र यात्रुको आवागमन बाक्लिने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो ।
प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत कमान्ड पोस्ट, पिकेट ड्युटी, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती, बजार अनुगमन, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, कालोबजारी नियन्त्रण, ट्राफिक चेकजाँच, सूचना सङ्कलन, यात्रु सहायता कक्ष तथा रिजर्भ टोली परिचालन गर्नेछ ।
“बजार क्षेत्र, सार्वजनिक स्थल, धार्मिक स्थल तथा बढी भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाइनेछ ,मुख्य सडक तथा राजमार्गमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित आवागमनमा जोड दिइन छ”प्रहरी उपरिक्षक प्रसाईले भन्नुभयो ।
चाडपर्वका बेला हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई समेत प्राथमिकता दिइनेछ । प्रहरीले शान्ति सुरक्षामा
सिसीटिभी क्यामरामार्फत हुने निगरानीले शङ्कास्पद गतिविधि पहिचान गर्न तथा आपराधिक घटनाको अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी उपरीक्षक प्रसाईको भनाई छ । प्रविधिको प्रयोगसँगै प्रहरी परिचालनलाई प्रभावकारी बनाउँदै जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रहरीले सर्वसाधारणलाई पनि सहयोग गर्न आग्रह गरेको छ । कुनै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन तथा घर, पसल र सम्पत्तिको सुरक्षामा ध्यान दिन प्रहरीले अनुरोध गरेको छ ।
