सम्पादकीय । नेपालको बहुदलीय राजनीतिमा नेपाली कांग्रेससँगै कम्युनिष्ट शक्तिहरूको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । तर नेपालमा कम्युनिष्ट विचारधारा बोकेका दल र समूहको संख्या जति बढ्यो, उनीहरूको राजनीतिक प्रभाव र संगठनात्मक स्थायित्व त्यति नै प्रश्नको घेरामा पर्दै गएको देखिन्छ । कहिले एकता, कहिले विभाजन, कहिले गठबन्धन र फेरि अर्को एकताको चक्रमा घुमिरहेको नेपालको वाम राजनीति अहिले पनि आफ्नो स्पष्ट दिशा खोजिरहेको छ । यसको पछिल्लो उदाहरण नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको एक वर्ष पुग्दा देखिएको संगठनात्मक अवस्था हो । तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहित २२ घटक मिलेर बनेको नेकपाले एक वर्ष पूरा गर्न लाग्दा पनि पार्टीको संगठनात्मक समायोजनलाई पूर्णता दिन सकेको छैन । वडा, पालिका र जिल्ला तहका संरचना तथा विभिन्न जनसंगठनको एकीकरण अझै टुंगिएको छैन । एकताको महाधिवेशनसमेत तोकिएको समयमा हुन नसकेपछि फेरि सारिएको छ ।
प्रश्न यहाँ महाधिवेशन केही महिना सर्नु मात्र होइन । प्रश्न हो—२२ वटा दल मिलेर बनेको भनिएको पार्टी एक वर्षपछि पनि एउटा पार्टीका रूपमा किन देखिन सकेन ? एकता घोषणा गर्नु र एकीकृत पार्टी निर्माण गर्नु एउटै कुरा होइन । पार्टी कार्यालय एउटै हुनु, एउटै झण्डा हुनु र नेताहरू एउटै मञ्चमा उभिनु मात्रै संगठनात्मक एकता होइन । विचार, नेतृत्व, कार्यदिशा, संगठन, जनसंगठन र कार्यशैलीमा एउटै राजनीतिक संरचना बन्न सकेपछि मात्र एकताको अर्थ स्थापित हुन्छ । अझ रोचक कुरा त के छ भने, ठूलो आकार बनाउने क्रममा केन्द्रीय सदस्यको संख्या अत्यधिक फराकिलो बनाइयो । करिब २५ सयभन्दा नबढ्ने भनिएको केन्द्रीय संरचनाले समेत पूर्णता पाउन सकेको छैन भने करिब ६ सय सदस्यको केन्द्रीय कार्यकारिणी समिति बनाउने तयारी पनि टुंगिएको छैन । युवा, विद्यार्थी, मजदुर, स्वास्थ्यकर्मी, खेलकुदलगायत महत्वपूर्ण जनसंगठनसमेत एकतापूर्वकै संरचनामा चलिरहेका छन् । संगठनभन्दा अझ गम्भीर प्रश्न राजनीतिक दिशाको हो । वामपन्थी राजनीति विचार र सिद्धान्तमा आधारित हुने कि तत्कालीन सत्ता समीकरण र चुनावी गणितमा ? जनताको पक्षमा उभिने स्पष्ट राजनीतिक कार्यदिशा बनाउने कि परिस्थिति हेरेर भाष्य बदल्ने ? यी प्रश्नको जवाफ नेकपाले दिनुपर्ने देखिन्छ । यही अन्योलबीच पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ सुरु गरेका छन् । अभियानले वामपन्थी शक्तिहरूको पुनर्गठन, बृहत् वाम एकता र वैचारिक बहसलाई प्राथमिकता दिएको छ । खनालले अभियान घोषणा गरे पनि आफूले पार्टी नछोडेको स्पष्ट पारेका छन् । वामपन्थीहरूका लागि यो फेरि अर्को एकताको नारा थप्ने अवसर मात्र बन्नु हुँदैन । विगतमा पनि एकताका ठूलाठूला घोषणा भए, केही समयमै फुट र आरोप–प्रत्यारोप सुरु भए । कहिले ‘अब वामपन्थी शक्तिको लामो युग आयो’ भनियो, कहिले आफैंले प्रमुख दुश्मन घोषणा गरेका शक्तिसँग राजनीतिक सहकार्य गर्न पुगियो । यस्तो विरोधाभासले नयाँ पुस्तालाई वाम राजनीतितर्फ आकर्षित गर्नुको सट्टा प्रश्न गर्न बाध्य बनाएको छ ।
नेपालको वाम राजनीतिलाई आज अर्को एउटा ठूलो पार्टीको आवश्यकता हो कि विश्वसनीय राजनीतिक विचार, स्पष्ट कार्यदिशा र जनतासँग जोडिएको संगठनको ? यो प्रश्न नेकपाले मात्र होइन, सबै वामपन्थी शक्तिले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला हो । एक वर्षमा महाधिवेशन गर्न नसक्नु आफैँमा असफलताको प्रमाण होइन । तर एकताको औचित्य पुष्टि गर्ने संगठन, विचार र कार्यदिशा पनि निर्माण गर्न नसक्नुचाहिँ गम्भीर संकेत हो । अब नेकपाले संख्या होइन संरचना, नारा होइन नीति र सत्ता होइन विचारलाई प्राथमिकता दिन सक्छ कि सक्दैन—यसैले उसको आगामी राजनीतिक यात्रा निर्धारण गर्नेछ । कम्युनिष्ट पार्टीहरू चिरा परेर कमजोर हुनु नयाँ कुरा होइन । तर पटकपटक जोडिएर पनि नबन्नुचाहिँ नेपालको वाम राजनीतिका लागि अझ ठूलो प्रश्न हो ।