बागलुङ । दशैंमा हिमाली भेडा च्याङ्ग्राको मासुखाने प्रचलन नै छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारीको जिल्ला मुस्ताङहुँदै च्याङ्ग्रा भित्रिएका छन् ।
भाउ आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ ४५ देखि ५० हजार पर्ने गरेको पाइएको छ । डोल्पा–मुस्ताङहुँदै २५ दिनको पैदलयात्रा मार्फत बागलुङमा च्याङ्ग्रा बिक्रिीका लागि आउनुभएको तेन्जिङ तार्के तामाङले रोज्जा च्याङ्ग्रालाई ४५ हजारदेखि ५० हजार पर्ने बताउनुभयो ।
“डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिए, जसमध्ये एक सय च्याङ्ग्रा बागलुङ र एक सय च्याङ्ग्रा पोखरा पठाएको छु, बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो” तामाङले भन्नुभयो “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दशैंको मुखमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा यहाँ ल्याउछु,गत वर्ष कम फाइदा भयो, अहिले पनि गोठमै ३७ हजार सम्म च्याङ्ग्राको मुल्य परेको छ, च्याङ्ग्राको माग भने घटेको छैन, दर्शै अघिनै च्याङ्ग्रा बिक्री गरेर सक्ने योजना छ ।”
३२ हजारदेखि ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याएकाले ४५ हजारदेखि ५० हजार सम्ममा बिक्री गर्दै आएको तामाङको भनाई छ । हिमपातले यसपटक च्याङ्ग्रा ल्याउना समस्या भएको उहाँको अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उहाँको आकलन रहेको छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित गरी च्याङ्गा लिएर प्रतिकेजी रु. दुई हजार २०० मा च्याङ्ग्राको मासु बिक्री गरिरहनुभएको छ । यसपटक मुल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको बताउनुभयो ।
यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादशैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदा हुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्राएको च्याङ्ग्रा व्यापारी बताउछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादशैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दशैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो ।
“स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दशैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन” अहिले रोज्जा च्याङ्ग्राकै मुल्य ५० हजार सम्म पर्न जान्छ, व्यापारी थापाले भन्नुभयो “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् ।” हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ ।
चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङ जिल्लाबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङहुँदै पोखरा र काठमाण्डौ निकासी भएका छन् । अहिले सम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निर्यात गरिएको छ ।
