• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

पूर्वराज्यमन्त्री चम्पादेवी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

  • २०८३ आश्विन ३०, शुक्रबार

बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा बागलुङकी नेतृ चम्पादेवी खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्य महिलातर्फबाट खड्का केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

खड्का यसअघि १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यसपछि विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बन्नुभएकी उहाँ पछिल्लो महाधिवेशनबाट पुनः निर्वाचित हुनुभएको हो ।

बागलुङ क्षेत्र नं। १ बाट २०७१ सालको संविधानसभा उपनिर्वाचनमा विजयी हुनुभएकी खड्काले संघीय संसदमा समेत प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीको जिम्मेवारीमा समेत रहिसक्नुभएको छ । २०७४ को आम निर्वाचनमा बागलुङ क्षेत्र नं। १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नु भएकी खड्का २०७९ सालको निर्वाचनपछि समानुपातिकतर्फ संघीय सांसद रहनुभएको थियो । उहाँ हाल गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय खड्काले पार्टीको केन्द्रीय तहदेखि संघीय र प्रदेश तहसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ । केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएसँगै कांग्रेसको राष्ट्रिय राजनीतिमा उहाँको भूमिका निरन्तर रहने भएको छ ।

पार्टीको केन्द्रीय तहमा रहँदा बागलुङसहित गण्डकी प्रदेशका राजनीतिक, विकास र महिला सहभागितासम्बन्धी मुद्दा उठाउने जिम्मेवारीसमेत उहाँसामु रहनेछ ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी खड्का पति हरि बहादुर खड्काको दुर्घटनामा परी २०७१ मंसिरमा निधन भएपछि खड्का सक्रिय राजनीतिमा लाग्नु भएको हो ।

  • २०८३ आश्विन ३०, शुक्रबार