बागलुङ । काठेखोला गाउँपालिकामा बसोबास गर्ने गर्गगोत्री घर्ति क्षेत्री जिसी ९लामिछाने० बन्धुहरू आपसी एकता, सहकार्य र सामाजिक विकासको उद्देश्यसहित संगठित भएका छन्। उनीहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित एक करोड रुपैयाँको सामूहिक कोष स्थापना गर्ने निर्णय गरेका छन्।
काठेखोला गाउँपालिका–७, रेशस्थित औद्योगिक ग्राममा शुक्रबार सम्पन्न बन्धुहरूको भेलाले दाजुभाइबीच आपसी सम्बन्ध सुदृढ गर्दै सहकार्य, समन्वय, सद्भाव र सिर्जनशीलतालाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो।
पर्वतको जलजला गाउँपालिका–२, मल्लाजलाई मूल थलो मान्दै आएका जिसी बन्धुहरूले काठेखोलामा रहेका परिवारहरूको सुखदुःखमा साथ दिने र सामाजिक हितका काममा साझा पहल गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेका हुन्। कोषमा संकलित रकमबाट प्राप्त ब्याजलाई विभिन्न कारणले समस्यामा परेका बन्धुहरूलाई सहयोग गर्न तथा समाजको बृहत्तर हितका काममा परिचालन गरिने जनाइएको छ।
कोषलाई व्यवस्थित रूपमा स्थापना, सञ्चालन र परिचालन गर्नुका साथै गर्गगोत्री घर्ति क्षेत्री जिसी ९लामिछाने० समुदायको इतिहास, पहिचान र तथ्यांक संकलन गर्ने जिम्मेवारीसहित गुमबहादुर जिसीको संयोजकत्वमा सात सदस्यीय समन्वय समिति गठन गरिएको छ।
समितिको सचिवमा सुरेन्द्र जिसी, कोषाध्यक्षमा तारा जिसी तथा सदस्यहरूमा मेकबहादुर जिसी, बिरेन जिसी, यामबहादुर जिसी र लोकबहादुर जिसी चयन भएका छन्।
समाजका ज्येष्ठ सदस्य दलबहादुर जिसीको अध्यक्षता तथा काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका पूर्वकेन्द्रीय सदस्य दीपबहादुर जिसी, सदस्यहरू रामबहादुर जिसी, सुनिल लामिछाने लगायतले धारणा राखेका थिए।
वक्ताहरूले पुर्ख्यौली सम्बन्ध र ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तालाई समेत समाजसँग जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले कोष स्थापनालाई आर्थिक सहयोगमा मात्र सीमित नराखी आपसी विश्वास, एकता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका थिए।