बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ स्थित एक घरबाट फेला परेको थान ग्रिनेड (बम) लाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार साँझ करिब ५ः०० बजे स्थानीय खड्कबहादुर खत्रीको तीनतले कच्ची घरको बीचतलाको खाली कोठाबाट ग्रिनेड फेला परेको सूचना प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी सहायक निरीक्षक डेडबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई घेराबन्दी गरी सुरक्षा व्यवस्था मिलाएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी नायब उपरीक्षक रमेश्वर त्वातीको कमान्डमा अर्को टोली खटिएको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी बम निष्क्रिय करण टोली परिचालन गरिएको त्वातीले जनाउनुभयो ।
नेपाली सेनाको टोलीले साँझ ६ः५५ बजे आवश्यक सुरक्षा सतर्कता अपनाउँदै उक्त ग्रिनेडलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोजल) गरेको हो । घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।