• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

चैत्राष्टमी मेलामा विद्यार्थीले सञ्चालन गरे फास्ट फुड सेन्टर

बागलुङ । बागलुङमा चैत्राष्टमी मेला चलिरहेको छ । स्थान हो, कालिका बाल उद्यान खेल मैदान । मेलाको प्रवेशद्वारबाट छिरेपछि दायाँपट्टि जस्ताको छाप्रोमा आइडीकार्ड भिरेका कोही चटपट बनाइरहेका छन् भने कोही ग्राहकलाई सेवा गरिरहेका छन् । उनीहरू धौलागिरी बहुमुखी क्याम्पसमा बि.बि.ए. अध्ययनरत विद्यार्थी हुन् ।

विद्यार्थीहरूले चैत्राष्टमी मेलाको अवसरमा फास्ट फुड सेन्टर सञ्चालन गरेका छन् । शैक्षिक अनुसन्धान तथा व्यवहारिक सीप विकासका लागि बि.बि.ए. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले यो केन्द्र सञ्चालन गरेका हुन् ।

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेला चैत १० गतेदेखि सुरु भएको हो । मेला १४ गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्टल चलाएर संकलित रकम शैक्षिक अनुसन्धानका लागि प्रयोग गरिने र सिकाइका लागि पनि काम गरिएको समूहकी संयोजक रोजिता राजभण्डारीले बताउनुभयो ।

“नयाँ अनुभवका लागि पनि हो, अब आउने नयाँ विद्यार्थीको सिकाइ पनि होस् भन्ने उद्देश्यले हामी १९ जना साथीहरूले मिलेर प्रत्येक व्यक्तिबाट तीन हजार रुपैयाँ जम्मा गरेर कुल ५७ हजार रुपैयाँको लगानी गरेका छौँ,” राजभण्डारीले भन्नुभयो । उहाँका अनुसार खाजा अर्डरको लागि फोनबाट समेत बुकिङ आउने गरेको छ ।

केन्द्रमा विद्यार्थीहरूले आफैं चिया, मःम, ससेज, यमरी, पकौडा, दुनोट, पानीपुरी, चटपट र अण्डा तरकारी बनाउने गरेका छन् । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा मेला सञ्चालन भइरहेको छ ।

किताबमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा अनुभव गर्न मेलामा फास्ट फुड सेन्टर सञ्चालनमा ल्याएको राजभण्डारीको भनाइ छ ।

फास्ट फुड सञ्चालन गरेदेखि हरेक दिन नयाँ अनुभव भएको र खाजा खान आउने ग्राहकले पनि राम्रो प्रतिक्रिया दिने गरेको बि.बि.ए. पाँचौँ सेमेस्टरमा अध्ययनरत संकर रिजालले बताउनुभयो ।

“सिकाइ हरेक दिन नयाँ–नयाँ भैरहेको छ, जनप्रतिनिधि तथा हरेक क्षेत्रका सामाजिक व्यक्तित्व पनि आउनुहुन्छ र सल्लाह–सुझाव दिनुहुन्छ,” रिजालले भन्नुभयो ।

सबै सदस्यले विभिन्न विभाग बनाएर काम गर्ने गरेका छन् र समय तालिका बनाएर पालैपालो काम गर्ने गरेको उनीहरूको भनाइ छ ।