• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday

फलेको हाँगो निहुरिन्छ, सत्ता किन उफ्रिन्छ ?

  • २०८३ भाद्र २५, बिहीबार

 

सत्ता पाएपछि विनम्र हुनुपर्ने हो, अरूलाई तर्साउने होइन । जेनजीको नाममा सत्तामा पुगेकाहरूले जेनजीकै सपनालाई कुल्चिन थाले भने त्यो परिवर्तन होइन, पुरानै संस्कारको नयाँ अनुहार हुनेछ । नेपाली समाजमा एउटा सुन्दर उखान छ, ‘फलेको हाँगो निहुरिन्छ ।’ फल लागेपछि हाँगो झुक्छ । अर्थात् मानिस जति सक्षम, सफल र जिम्मेवार हुँदै जान्छ, ऊ त्यति नै विनम्र, संयमी र शालीन हुनुपर्छ । तर नेपालको राजनीति र राज्यसत्ताको पछिल्लो दृश्य हेर्दा उखानले भनेको बाटोभन्दा राजनीति ठीक उल्टो दिशामा हिँडिरहेको देखिन्छ । सत्ता प्राप्त गरेपछि जिम्मेवारी बढ्नुपर्ने ठाउँमा दम्भ बढ्छ, संयम आउनुपर्ने ठाउँमा अहंकार आउँछ र जनताको आवाज सुन्नुपर्ने ठाउँमा आलोचकलाई नै ‘सुध्रिन’ चेतावनी दिने प्रवृत्ति देखिन्छ । प्रश्न नयाँ वा पुरानो राजनीतिक दलको मात्र होइन, राज्यसत्ताको संस्कारको हो । हिजो पुराना दलका नेताहरूलाई यही कारण प्रश्न गरिएको थियो । उनीहरू जनताबाट टाढा भए, आलोचना सुन्न छाडे, सत्ता आफ्नो सुविधा र संरक्षणको माध्यम बनाए, नागरिकलाई आदेश दिने र आफूलाई जवाफदेहिताबाट माथि राख्ने प्रवृत्ति बढ्यो भनियो । यही असन्तुष्टिको विस्फोटका रूपमा जेनजी आन्दोलन आयो । आन्दोलनले नयाँ अनुहार मात्र खोजेको थिएन, नयाँ राजनीतिक संस्कार खोजेको थियो । तर आज जेनजी आन्दोलनको नाममा सत्तामा पुगेका नयाँ पात्रहरूको व्यवहार हेर्दा प्रश्न उठ्न थालेको छ, हिजो जसका विरुद्ध विद्रोह गरिएको थियो, आज त्यही शैली नयाँ अनुहारमा दोहोरिँदै त छैन ?

जेनजी शहीद स्मृति दिवसमा गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई ‘सुध्रिन’ दिएको चेतावनी यही कारण गम्भीर बहसको विषय बनेको छ । ‘हामी राजनीति सिक्न आएका होइनौँ, सिकाउन आएका हौँ’ भन्नेदेखि आलोचकलाई लक्षित गर्दै आक्रामक भाषा प्रयोग गर्नेसम्मका अभिव्यक्ति कुनै सामान्य राजनीतिक सभाको भाषण हुन सक्छन् । तर गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको व्यक्तिका लागि यस्ता अभिव्यक्ति सामान्य मान्न सकिँदैन । गृहमन्त्री राज्यको एउटा पक्षको नेता होइन, सम्पूर्ण राज्यको प्रतिनिधि हो । उसले सत्तापक्षलाई पनि हेर्नुपर्छ, विपक्षलाई पनि । आन्दोलनकारीलाई पनि सुन्नुपर्छ, आलोचकलाई पनि । पत्रकारलाई सम्मान गर्नुपर्छ, असहमत नागरिकलाई पनि सुरक्षा दिनुपर्छ । गृह मन्त्रालय आन्तरिक सुरक्षा, प्रशासन र संकट व्यवस्थापनको केन्द्र हो । त्यहाँबाट निस्कने एउटा शब्दले तनाव बढाउन सक्छ, एउटा निर्णयले नागरिकलाई सुरक्षित बनाउन सक्छ । त्यसैले गृहमन्त्रीको शक्ति उनको आवाज कति चर्को छ भन्नेमा होइन, संकटको समयमा कति संयमित भएर राज्यका सबै संयन्त्र परिचालन गर्न सक्छन् भन्नेमा मापन हुन्छ । कसैले अपराध गरेको छ भने कानुनअनुसार कारबाही गर्ने अधिकार राज्यसँग छ । प्रमाण छ भने मुद्दा चलाओस्, दोषी भए सजाय देओस् । तर आलोचना गर्ने नागरिकलाई तर्साउने, राज्यशक्तिको भय देखाउने वा धम्कीपूर्ण भाषा प्रयोग गर्ने अधिकार लोकतन्त्रले कसैलाई दिएको छैन । सत्तामा भएकाले प्रतिसोध साध्ने होइन, कानुनको शासन स्थापित गर्ने हिम्मत गर्नुपर्छ । विडम्बना के छ भने गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आफ्नै दलभित्रबाट प्रश्न उठेको छ । ‘सुध्रिनु अरूले मात्रै पर्ने हो ? हामीले चाहिँ सुध्रिनु नपर्ने ?’ भन्ने प्रश्नदेखि ‘अहंकार नै विनाशको मूल कारण हो’ भन्ने टिप्पणीसम्म आइपुग्दा सत्तारुढ दलभित्रै बेचैनी देखिनु सामान्य विषय होइन । यसले व्यक्ति विशेषभन्दा ठूलो प्रश्न उठाएको छ, नयाँ भनिएको राजनीतिक शक्ति आफैँ पुरानै राजनीतिक संस्कारको सिकार त हुँदै छैन ?

जेनजी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि सत्ता परिवर्तन मात्र होइन, सत्तालाई प्रश्न गर्न सकिन्छ भन्ने नागरिक चेतनाको पुनःस्थापना हो । त्यसैले आज सत्तामा पुगेका जेनजीका नामधारी प्रतिनिधिहरूलाई पनि प्रश्न गर्न पाइन्छ । उनीहरू आलोचनाभन्दा माथि छैनन् । उनीहरूलाई प्रश्न गर्नु जेनजी आन्दोलनको अपमान होइन, बरु त्यसको मर्म जोगाउनु हो । जेनजीले भ्रष्टाचार, दम्भ, निरंकुशता, जवाफदेहिताको अभाव र पुरानो राजनीतिक संस्कारविरुद्ध विद्रोह गरेको हो भने त्यसको पहिलो परीक्षा सत्तामा पुगेपछि सुरु हुन्छ । सडकमा हुँदा ‘सत्ता विनम्र हुनुपर्छ’ भन्नेहरू सिंहदरबार पुगेपछि आफैँ किन उग्र हुन्छन् ? हिजो प्रेस स्वतन्त्रताको पक्षमा उभिनेहरू आज आलोचक पत्रकारलाई किन ‘सुध्रिन’ भन्छन् ? हिजो राज्यलाई प्रश्न गर्नेहरू आज राज्यको प्रश्नलाई किन असहज मान्छन् ? यही विरोधाभास नयाँ सत्ताको सबैभन्दा ठूलो संकट हो । गृह मन्त्रालय कुनै व्यक्तिगत ब्रान्ड बनाउने मञ्च होइन । विपत्तिको घटनास्थलमा पुग्नु, उद्धारमा खटिनु वा नागरिकसँग प्रत्यक्ष भेटिनु नराम्रो होइन । तर गृहमन्त्रीको प्राथमिकता क्यामेरामा देखिनु होइन, राज्य संयन्त्रले प्रभावकारी काम गरेको सुनिश्चित गर्नु हो । मन्त्री आफैँ उद्धारक बन्नुभन्दा उद्धार गर्ने राज्य संयन्त्रलाई सक्षम, समन्वित र जवाफदेही बनाउनु ठूलो जिम्मेवारी हो । देशलाई स्टन्ट होइन, प्रणाली चाहिएको छ । भाषण होइन, परिणाम चाहिएको छ । सामाजिक सञ्जालमा भाइरल हुने मन्त्री होइन, संकटका बेला राज्यका सबै पक्षलाई एउटै टेबलमा राखेर समाधान खोज्ने गृहमन्त्री चाहिएको छ ।

अझ ठूलो प्रश्न प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेतर्फ सोझिन्छ । नयाँ राजनीतिक शक्तिले पुरानो संस्कारको विकल्प दिने दाबी गरेको हो भने उसले आफ्नै नेतृत्व र मन्त्रीहरूको व्यवहारमाथि पनि कठोर समीक्षा गर्नुपर्छ । आफ्ना मान्छेले गल्ती गर्दा चुप लाग्ने र पुरानाले गल्ती गर्दा मात्रै प्रश्न गर्ने हो भने नयाँ राजनीति र पुरानो राजनीतिबीचको अन्तर कहाँ रहन्छ ?

जेनजी आन्दोलन कुनै व्यक्तिको निजी सम्पत्ति होइन । त्यो युवाको आक्रोश, नागरिकको असन्तुष्टि र राज्यप्रतिको गहिरो प्रश्नको अभिव्यक्ति थियो । त्यसलाई कसैले आफ्नो सत्ता र प्रतिष्ठाको प्रमाणपत्र बनाउने अधिकार राख्दैन । आज सत्तामा पुगेकाहरूले सम्झिनुपर्छ, जनताले उनीहरूलाई अरूभन्दा ठूलो बनाएर मात्र पठाएका होइनन्, अरूभन्दा बढी जिम्मेवार बनाएर पठाएका हुन् । सत्ता स्थायी होइन । पद स्थायी होइन । लोकप्रियता पनि स्थायी होइन । स्थायी हुने कुरा नागरिकको विश्वास हो । त्यो विश्वास धम्कीले होइन, व्यवहारले जितिन्छ । फलेको हाँगो निहुरिन्छ । फल नलागेको हाँगो हावामा धेरै उफ्रिन्छ । त्यसैले अब प्रश्न छ, जेनजीको नाममा सत्तामा पुगेकाहरू फल्दै छन् कि उफ्रिँदै छन् ?
यदि जेनजीले साँच्चै नयाँ नेपाल खोजेको हो भने नयाँ सत्ताले पहिले आफूलाई बदल्नुपर्छ । अरूलाई ‘सुध्रिनुस्’ भन्नुअघि आफू सुध्रिनुपर्छ । आलोचकलाई तर्साउने होइन, आलोचना सुन्ने संस्कार बसाल्नुपर्छ । शक्ति देखाउने होइन, शक्तिलाई नियन्त्रणमा राख्नुपर्छ । किनकि लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति सरकार होइन, जनताको विश्वास हो । र देशलाई अहिले धम्की दिने सत्ता होइन, भरोसा दिने सत्ता चाहिएको छ ।

  • २०८३ भाद्र २५, बिहीबार