• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

पहिरोका कारण फलेवासमा ६ परिवार विस्थापित

बागलुङ । अविरल वर्षाका कारण पहिरोले घर भत्किएर विस्थापित भएका पर्वतका ६ परिवारलाई अस्थायी रुपमा सुरक्षित टेन्टमा सारिएको छ ।

फलेवास नगरपालिका वडा नम्बर ८ को खाल्टेमा वर्षाका कारण पहिरो जाँदा ६ वटा घर बस्नै नमिल्ने गरि भत्किएका छन् ।

गोठ र धन्सार गरेर १० वटा भौतिक संरचना पूर्ण रुपमा क्षती भएको फलेवास नगरपालिकाका उपमेयर शोभा क्षत्रीले जानकारी दिनुभयो ।

शनिबार हेर्दा चर्किएका घरहरु आइतबार बिहानसम्म पूर्ण रुपमा बस्नै नमिल्ने गरि भत्किएका छन्, उपमेयर क्षत्रीले भन्नुभयो तत्कालका लागि ५ वटा टेन्टको व्यवस्था गरेर बास बस्ने व्यवस्था मिलाएका छौँ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे सहित प्रहरीको टिमसँग मिलेर अस्थायी बासको व्यवस्था गरेको उपमेयर क्षत्रीले बताउनु भयो । जिल्ला विपत व्यवस्थापन समितिले तत्कालका लागि टेन्टको व्यवस्थापन गरेको क्षत्रीले बताउनु भयो । चाडपर्वको समयमा भौतिक संरचनामा भएको क्षती स्थानीसँगै नगरपालिका समेत विक्षिप्त भएको भन्दै क्षत्रीको भनाई छ ।

पहिरोका कारण घरबार बिहीन भएकाहरुलाई नगरपालिकाले सुरक्षित दिर्घकालिन व्यवस्थापनका लागि छिट्टै सहयोग गर्ने उहाँको भनाई छ ।