• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

फरार कैदीबन्दी पक्राउ गर

सम्पादकीय
नेपाली समुदायका भिन्न–भिन्न ठुला चाडपर्वहरुको आगमनले उत्सवमय बन्ने समाज यतिबेला भने भय, शोक र सन्त्रासका बिचमा छ । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुकको सत्ताबाट पुराना दल र नेताहरुलाई त किनाराकृत ग¥यो । तर, यो सँगै आन्दोलनले थप हिंस्रक, अराजक र ध्वंसको रुप लिँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत मात्रै जलाउने काम भएन, यही मौकामा देशभरका कारागारमा रहेका कैदीबन्दीहरु भाग्ने र भगाउने काम भयो । देशको सुरक्षामा खटिएका नेपाल प्रहरी आफ्नै ज्यान जोगाउन नसक्ने अवस्थामा पुग्यो । आन्दोलनका नाममा अराजकता मच्चाउनेहरुको भिडले जब नख्खु कारागार पुगेर रवि लामिछानेलाई बाहिर निकाल्यो । त्यसपछि कारागार छोडेर र तोडेर बाहिरिने क्रम तीब्र बन्यो । जसले समाजलाई थप भयभित बनाएको छ ।

कारागार विभागको तथ्यांक अनुसार १४ हजार ५५६ जना फरार छन् । जेनजी आन्दोलन पछि कारागारबाट फरार भएका मध्ये कतिपय कैदीबन्दी स्वयंम् फर्किए, कतिपयलाई भने प्रहरीले पक्राउ ग¥यो । केही फरार कैदीबन्दी त हत्या र जघन्य अपराधमा संलग्न समेत भइसके । हालसम्म नौ हजार २९९ जना पुनः जेल फर्किएको तथ्यांक छ भने अझै पाँच हजार २५७ कैदीबन्दी फरार रहेका छन् । त्यसमध्ये नेपाली फरार कैदीबन्दीको संख्या चार हजार ६१८ हो भने बाँकी विदेशी नागरिक हुन् । जेन–जी आन्दोलनमा २८ जिल्लाका कारागारबाट फरारमध्ये ६३९ विदेशी कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । कारागार व्यवस्थापन विभागका अनुसार भारतसहित चीन, बंगलादेश, दक्षिण अफ्रिका, सुडान, म्यानमार, पाकिस्तान, बोलिभियालगायत २८ देशका कैदीबन्दी फरार छन् । फरार विदेशी कैदीबन्दीमा धेरैजसो भारतीय छन् । उनीहरू लागुऔषध, जबर्जस्ती करणी र अपहरणजस्ता गम्भीर अपराधमा संलग्न थिए । यही कारण समाज थप भयभित बनिरहेको छ ।

कारागारबाट कैदीबन्दी फरार भए पछि समाज आंतकित छ । यसले सुरक्षा चुनौती समेत बढाएको छ । फरार कैदीबन्दीले आफ्नै आमाको हत्या गर्ने देखि बलात्कार आरोपमा जेलमा रहेकाले फेरि बलात्कार नै गरेको आरोपमा पक्राउ परेको घटनाले पनि यसलाई पुष्टि गर्छ । उसो त जेल नफर्केका कैदीबन्दीलाई कारगार व्यवस्थापन ऐन, २०७९ अनुसार कारबाही गर्ने बताएको थियो । तर, कारागार विभागले जेन–जी आन्दोलनमा जेलबाट फरार कैदीबन्दीलाई कानुनअनुसार कारबाही गर्न सकेको छैन । बरु उल्टै गृह मन्त्रालयले गत १७ देखि १९ असोजसम्मको बढीपहिरोको कारण देखाउँदै तत्काल कारबाही नगर्न निर्देशन दिएको थियो । सोही निर्देशनपछि थप अन्यौलता र अराजकताको जोखिमको अवस्था पैदा भएको छ । अहिले जेनजीका नाममा थुप्रै स्थानमा डर, धम्की लगायतका अराजक घटनाहरुलाई प्रश्रय पाइरहेका छन् । यी यावत जोखिम र सुरक्षा चुनौतीको समाधानका लागि सरकारले फरार कैदीबन्दी पक्राउका लागि विशेष टास्क फोर्स नै बनाएर अभियान चलाउनु पर्छ । यसमा नागरिकले पनि साथ दिनुपर्छ ।