• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

बाह्य पर्यटकले गुल्जार पुन हिल (फोटो कथा)

  • २०८२ कार्तिक १२, बुधबार

 

घोडेपानी, म्याग्दी ।  ४० वर्ष पहिला ‘लुङटुङ’ डाडाँमा सिमित पुन हिल अहिले सर्वाधिक चर्चाको शिखरमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल कुनैबेला खिवाङ गाउँका किसानहरुको गोठथरीका रुपमा थियो ।

चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको मात्रै छैन वार्षिक हजारौ पर्यटक तान्दै त्यहाका नागरिकको जिवनस्तर उकास्न सहयोग गरेको छ ।

समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्र मात्र बनेको छैन, आर्थिक रुपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ ।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रर्वद्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्वपूर्ण योगदान रहेको छ ।

विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाईमा पुन हिल नामाकरण गरिएको थियो । अहिले पुन हिलनमा सूर्योदय हेर्ने पर्यटकको घुइचो लाग्ने गरेको छ । पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने क्रममा थकान मेटाउने र बटुवाहरुले घोडालाई पानी खुवाउने थलो थियो ।

पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोरेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे ।


दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रकोबारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो ।


स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि विसं २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी विसं २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो ।

सूर्योदय, सुर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरिलगायतका दर्जनौँ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रुपक रिमालले बताउनुभयो । “चैत÷वैशाखमा पाखाभरी ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुस÷माघमा यहाँ हिउँ खेल्न पाइन्छ,” उहाँले भन्नुभयो “प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी–पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।”


घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५४ लाखमा ठेक्का सम्झौता गरेको छ ।


विदेशीले प्रतिव्यक्ति रु. एक सय ५० र नेपालीले रु. ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क संकलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक एक सय ५० देखि दुई सय जनासम्म विदेशी पर्यटक आएका बताउनुभयो ।

“गत वर्ष यही याममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए,” उहाँले भन्नुभयो “जेनजी प्रर्दशन र प्रतिकुल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ ।” घोडेपानीमा बास बसेका पर्यटकहरु एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् ।

घोडेपानीमा हाल दैनिक एक हजार जना भन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटलहरु छन् । पर्यटकलाई अर्गानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायतका सुविधा उपलब्ध गराइएको छ ।


समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।


यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फुलवारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । संघीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हँुदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाअध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।


“पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छाँै,” उहाँले भन्नुभयो “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्राउन प्रयास गरिरहेका छौँ ।”


हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा–जोमसोम आवतजावतका लागि छोटो र विकल्पको रुपमा विकास गर्न लागिएको वडाअध्यक्ष खड्काले बताउनुभयो ।
फोटो खेमराज गौतम
कथा राम थापा र सन्तोष गौतम

 

  • २०८२ कार्तिक १२, बुधबार