बागलुङ । निर्माण व्यवसायीको चरम लापारर्वाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।
उनिहरुले धुलाम्मे र हिलाम्मे सडकका कारण खेतीपाती समेत हुन छोडेको, सुन्तला खेती नभएको र धुलोका कारण स्वास्थ्य समेत बिग्रिएको बताउदै आन्दोलनको घोषणा गरेका हुन् ।
बिहुँकोटबासीले आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाउदै ठेकेदारले तत्कालै काम नगरे मंसिर १ गतेबाट सडक बन्द गर्ने चेतावनी दिएका छन् ।
दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डको २६ किलोमिटर नौ वर्ष वित्दा अझै १२ किमि सडक कालोपत्र हुन सकेको छैन । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष वित्दा समेत अझै १२ किलोमिटर खण्ड अलपत्र जस्तै बनेको छ ।
जसमध्ये बिहुँ खण्डको १३ किमि सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको थियो ।
नयाँ ठेक्का सम्झौता गरेको समेत एक वर्ष वित्दा भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीयले जिल्ला प्रशासन गुहारेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराइएको स्थानीय भरत प्रसाद सापकोटाले बताउनुभयो ।
उहाँले लोकमार्ग आयोजना कार्यालय पर्वत र निर्माण व्यवसायीले बिहुँबासीको कुरा नसुनेको बताउदै बाच्न पाउने मानवअधिकार समेत धुलोका कारण हनन् भएको बताउनुभयो ।
काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडा अध्यक्ष वृहस्पती कँडेलको नेतृत्वमा जिल्ला प्रशासन आएको स्थानीयले मध्यपहाडी लोकमार्गले तत्कालै काम शुरु नगरे मंसिर १ गतेबाट लोकमार्गको बागलुङको बिहुँ खण्ड पूर्ण बन्द गन चेतावनी दिएका छन् ।
आर्थिक वर्ष २०७२÷७३ सालमा दुई वर्षमा सक्नुपर्ने काम पाँच पटक म्याद थप्दा समेत नसकेपछि गतवर्ष ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको थियो ।
नयाँ ठेकदारले समेत जम्मा १२ प्र्रतिशत भौतिक प्रगति गरेपछि स्थानीयहरु सडक बन्दको चेतावनी सहित जिल्ला प्रशासन कार्यालयमा आएर चार बुँदे ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
उनिहरुले धुलोका कारण सास्ती खेप्नु परको, वषौदेखि सडक अलपत्र परेको र तत्कालै कालोपत्रको काम नथाले सडक बन्द गर्ने चेतावनी दिएका छन् ।
मंसिर सम्म जिल्ला प्रशासन कार्यालय सहित मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायी बीच बैठक बसेर काम थाल्न लगाउने प्रजिअ कुमान सिंह गुरुङले स्थानीयलाई आश्वासन दिनुभएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किमि मध्ये सबै सडक कालोपत्र सकिदा बिहुँ खण्डको १२ किमि सडक अझै कालोपत्र हुन नसक्दा स्थानीय आक्रोशित भएका छन् ।
बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक ८ वर्षमा समेत कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ÷रिजाल भगवती जेभीसंग रु. २१ करोड ४९ लाखमा ठेकका सम्झौता गरिएको थियो । उक्त खण्डको एक वर्षको प्रगति जम्मा १२ प्रतिशत मात्रै भएकाले बिहुँबासी आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको खिमानन्द कँडेलले जानकारी दिनुभयो ।
बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाद्दछुट्टै खण्ड बनाएर अर्थिक वर्ष २०७२÷७३ सालमा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । उक्त दुई खण्ड मध्ये बिहुँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसंग संझौता भएपनि कामले गति लिन सकेको छैन भने तल्लो खण्ड पाँच पटक म्याद थप्दा समेत नसक्दा ठेक्का रद्द गर्न स्थानीयले माग गरेका छन् ।
निर्माण व्यवसायीलाई ताकेता गरेपछि काममा फर्केको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यलयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो ।
