सम्पादकीय । ६० सालको सेरोफेरोमा साहित्यिक पत्रपत्रिका निकाल्ने देशभर लहर चल्यो । अहिले गत भाद्र २३ र २४ गतेको आन्दोलन पछि देशमा राजनीतिक पार्टी खोल्ने लहड चलिरहेको छ । पुराना राजनीतिक दल जेनजी आन्दोलनसँगै किनाराकृत भएका छन् । यद्यपि, उनीहरु फेरि त्यो जेनजी विद्रोहको कहालीलाग्दो घटना र परिदृश्य बिर्सिएर क्रमशः जुर्मुराउँदै छन् । पुराना मुलधारका राजनीतिक दल जेनजी आन्दोलन पश्चात समीक्षा, आत्मआलोचना भन्दा बढी रक्षात्मक देखिएका छन् । उनीहरु आफु र आफ्नो दलको अस्तित्व संकटमा पुगिरहेको ठहर सहित धमाधम पार्टी एकता गर्न थालेका छन् भने दोस्रो, तेस्रो पुस्ताका नेताहरु भने त्यसको खिलाफमा विद्रोह गरेर पार्टी पुर्नगठनको अभियानमा लाग्न थालेका छन् । यस्तो लाग्छ कि यो देशमा दलहरु इतिहासकै ठुलो संकटको सामना गरिरहेका छन् ।
पुराना राजनीतिक दलहरु पार्टी एकताको नाममा मिलिभगत गर्न सक्रिय भइरहेका बेला नयाँ दल खोल्नेहरुको पनि लहड चलिरहेको छ । जेनजी आन्दोलन पश्चात बनेको पूर्व प्रधानन्यायधीश सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरे सँगै पुरानादेखि नयाँ पुस्तासम्मले दल खोलेर चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । निर्वाचन घोषणा भएपछि अहिले सम्म ३ नयाँ दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी र जनमत पार्टीबाट विभाजित जनस्वराज पार्टी आयोगमा दर्ता भएका हुन् । यी पार्टी थपिएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय २५ पुगेको छ । गत आर्थिक वर्ष र जेन–जी आन्दोलनयता गरी दल दर्ताका लागि आएका १७ निवेदन आयोगमा विचाराधीन छन् । वर्तमान सरकारमा भौतिक योजना तथा निर्माण, उर्जा तथा जलस्रोत सहित महत्वपूर्ण ३ मन्त्रालयको नेतृत्व सम्हालिरहेका कुलमान घिसिङले पनि उज्यालो नेपाल नामक दल दर्ता गर्ने समाचारहरु सार्वजनिक भइरहेका छन् । यद्यपि, यसलाई उनले आधिकारिक रुपमा पुष्टि भने गरिसकेका छैनन् । जेनजी अभियन्ता मिराज ढुंगाना लगायतले पनि पार्टी खोल्ने घोषणा गरेका छन् तर पार्टीको नाम भने तय गरिसकेका छैनन् ।
नेपालको दुर्भाग्य नै भन्नुपर्छ कि यो देशमा अपवाद बाहेक हामी सबै बेइमान बन्न नपाउँदा सम्मको इमान्दार छौ । अनि कुनै स्वार्थ या अवसर आयो कि आफ्नो पद, प्रतिष्ठा, योग्यता, हैसियत सबै बिर्सिएर उही फोहोरी राजनीति र खेलमा मैदान उत्रिन्छौ । हामी आफ्नो पेशा, क्षेत्र र जिम्मेवारी बिर्सिन्छौ या बेवास्ता गर्छौ तर, अरुबाट बत प्रतिशत त्यही भूमिकाको अपेक्षा गर्छौ । अनि सत्ता र शक्तिको आडमा जे पनि सम्भव तुल्याउने दुश्प्रयास गर्छौ । गरि खानेको पछि लागे कहि पुगिन्न ठगी खानेको पछि लागे जहाँपनि पुगिन्छ भन्ने मानसिकताले देश आक्रान्त छ । यही कारण नेपालको राजनीति दुर्गन्धित बन्दै गयो, जसले जेनजी आन्दोलन र ध्वंसको अवस्था निम्तायो । अहिले पुराना दल र नेतालाई सत्तेसराप गाली र आक्रोश व्यक्त भइरहेका बेला नयाँ दल दर्ताको बिकृत लहर छ । यसले आफैमा राजनीतिक अस्थिरता पैदा गर्न भूमिका खेल्छ । देशमा इलम गर्ने भन्दा नेता बन्नेको होड छ, त्यो पनि खास योग्यता, दक्षता भन्दा पनि लहड र निश्चित व्यक्ति, समूह र दल प्रतिको प्रतिशोधमा जे जसरी कार्य भइरहेका छन्, त्यसले समाधान दिदैन । दल खोल्नु आफैमा खराब काम होइन । तर, दल खोल्दा राजनीति प्रति थप बितृष्णा पैदा गर्ने गरी होइन, नेपाल र नेपाली जनताको माग, आवश्यकता सम्बोधन गर्ने खास योजना, सिद्धान्त, विचार सहितको पार्टी निर्माण हुनु पर्दछ । नत्र नीति, सिद्धान्त, विचार र योजना मिल्नेहरु बिचमा एकता गरेर देशलाई स्थिरता, विकास र समृद्धि दिनेतर्फ केन्द्रित हुनुपर्छ ।