बागलुङ । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौं बागलुङ महोत्सवमा भने स्टलहरुका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य संघको
आयोजनामा पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामा स्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा २०० बढी व्यापारिक भरीभराउ छन् । जसमध्ये केही स्टलहरुमा बागलुङमा उत्पादित समाग्रीहरुले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरु पाएको छ । जुन स्टलहरुलाई आयोजले निःशुल्क प्रदान गरेको छ ।
महोत्सवमा बागलुङमा उत्पादन भएको डाला नाङ्ला, ठेका देखि अल्लोका कपडा सम्म महोत्सव स्थलमा देख्न सकिन्छ । घरेलु उत्पादनको बजारीकरणसंगै प्रचार प्रसारका लागि आयोजकले निःशुल्क स्टलको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो । उहाँले बिहुँ र सिगानाका सुन्तला देखि बागलुङमा प्याकेजिङ गरिएको मकै देखि हस्तकलाका विभिन्न सामाग्री बिक्रीका लागि एक दर्जन स्टलहरुलाई मेड इन बागलुङका नाममा छु््ट्टाइएको जानकारी दिनुभयो । महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएको सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामाग्री र ताराखोलाको भाँगो देखि डोका नाम्ला सम्म महोत्सवका स्टलहरुमा देख्न पाइएको छ । बिहुँको सुन्तलालाई केस्रा ब्राण्डमा बजारमा ल्याइएको छ ।
विगतका महोत्सवमै प्रचार प्रसार भएका कारण जैमिनी नगरपालिका–३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो । महोत्सवमा बिक्रीसंगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले ताराखोलाका स्थानीय उत्पादनहरु डाला, नाग्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिनुभयो । उहाँले ताराखोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामाग्री समेत बिक्रीका लागि ल्याइएको बताउनुभयो ।
महोत्सव स्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ । महोत्सवमा उनिहरुले अल्लोका कपडा, तामाका भाडाका सामाग्री, फापारको पिठो, जौको पिठो, आलु, सिमी, टिमुर, कोदोको पिठो, मकैको आटा, निगालोबाट बनेका समाग्री तथा भेडाको उन लगायतका थुप्रै घरेलु सामाग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताउनुभयो । उहाँले व्यापारमात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताउनुभयो । स्टलमा हस्तकलाका सामाग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्री लगायतका स्टलहरु समेत देख्न सकिन्छ । बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामाग्री बिक्री तथा प्रदर्शनीका लागि एक÷एक वटा स्टल उपलव्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदिप सागर कँडेलले जानकारी दिनुभयो । उहाँले अहिले सम्म तमानखोला, ताराखोला, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका स्थानीय उत्पादनको स्टलहरु तयार भएर बिक्री वितरणको काम थालिएको जानकारी दिनुभयो ।
‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउदै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यल यस पटकको महोत्सवमा आधुनिकतासंगै स्थानीयपन झल्कने प्रयास गरेको बताउनुभयो । पुस २१ गतेसम्म चल्ने महोत्सवमा कुल रु. १० करोडको कारोबार हुने लक्ष्य लिइएको छ ।