• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

शिक्षण सिकाई बढाउन एआईको प्रयोग

म्याग्दी । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्नु पर्ने तर्फ चासो र दवाब बढ्दै गएको समयमा यसको प्रयोग गरिनु पर्नेमा पनि जोड दिन थालीएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा पनि शिक्षण सिकाइमा एआईको प्रयोग गरिनु पर्ने बताइएको छ ।

एआइको प्रयोगले विद्यार्थीसँग घुलमिल हुनेदेखि पढाउने तरिकामा समेत एआईको प्रभाव, प्रयोगका बारेमा नेपाल शिक्षक संघ म्याग्दीले आयोजना गरेको प्रशिक्षण तालिममा इन्टरनेट तथा ल्यापटप÷कम्प्युटरको पहुँचको विस्तारसँगै एआईको प्रयोग समेत आवश्यक रहेको बताइएको थियो । शिक्षकहरुको दक्षता बढाउनु पर्ने तथा अन्य अवस्थामा पनि एआइको सहयोगमा उत्कृष्ट सिकाइ गर्न सकिने तर्फ जोड दिइएको थियो ।

नेपाल शिक्षक संघ, सुचना तथा सञ्चार विभाग, गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक श्रीकृष्ण आचार्यले शिक्षण क्षेत्रमा एआई प्रयोग हुन थालेको अवस्थामा कार्यसम्पादनलाई सहज बनाउन होस् वा शिक्षण साम्रागी तयार गरी विद्यार्थीलाई सिकाउने कार्य निकै फलदायी हुने बताउनुभयो । पछिल्लो समय हेर्ने हो भने विश्वभर एआईको प्रयोग गरी पठनपाठन सहितका कार्यहरु प्रभावकारी भएपनि नेपालमा भने हालसम्म यसको प्रयोग कमी रहेको अवस्थामा म्याग्दीका शिक्षकले प्रयोग गर्न सकिने प्रमुख आचार्यको भनाई छ ।

तालिममा शिक्षकलाई उपयोगी हुने एआई टुलको प्रयोग तथा अभ्यास गराइएको थियो । तालिममा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति, नगर र गाउँपालिका पदाधिकारीहरु सहितको सहभागिता रहेको थियो ।

नेपाल शिक्षक संघका अध्यक्ष नगेन्द्र खत्रीको अध्यक्षता, सचिव बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा तालिममा सहभागि शिक्षकले आफ्नो विद्यालय र पालिकामा गएर अन्य शिक्षकहरूलाई पनि सक्षम बनाउने सघाउनु पर्ने अध्यक्ष खत्रीको भनाई थियो ।