बागलुङ । बागलुङ नगरपालिका १ रामरेखाको आयोजनामा चौथो अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बिद्यालय स्तरीय फुटवल प्रतियोगितालाई निरन्तररुपमा अगाडि बढाएको चिल्ड्रेन लाइफ स्पोटर्स क्लव बागलुङले चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलको सहआयोजनामा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता यहि माघ ९ गतेदेखि १२ गतेसम्म बागलुङ नगरपालिका १ मा रहेको बाङ्गेचौर खेलमैदानमा हुने र तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रतियोगिताबाट बिजेता बन्ने टिमले नगद ५५ हजार ५ सय ५५, ट्रफि मेडल र प्रमाण पत्र, उपविजेता बन्ने टिमले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष तथा चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरि सेमिफाइनलमा पुगेर पराजित हुने दुई समुहलाई जनही नगद १० हजार, बिद्यागत तर्फ बेष्ट प्लेयर, बेष्ट स्टाइगर, मिड फिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि ५ देखि ६ लाख खर्च लाग्ने अनुमान गरिएको उहाँको भनाई थियो । कार्यक्रम क्लवका अध्यक्ष तथा चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठको अध्यक्षता र क्लवका सचिव सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।