बागलुङ । झसमिसे साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरु सयपत्री फुलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा र पशुचौपायको काम सकेर आराम गर्ने साँझमा पाहुँनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डे स्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजार जन्मेर कर्मथलो अमेरिका बनाउदै आउनुभएको अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दंगिनुभएको थियो ।
बागलुङकै पहिलो सामुदायिक घरबासमा पुग्नुभएको श्रेष्ठलाई साँझ सयपत्री फुलको मालाले स्वागत गरियो भने भोलीपल्ट लालीगुराँस फुल दिएर बिदाई गरेको क्षणले मन लोभ्याएको बताउनुहुन्छ ।
“गाउँघरको रमाईलो पल, अर्गानिक खानाका परिकार, फूलमालाको स्वागत तथा लागिुराँसको बिदाई, बिहानै मूलाबारी भ्यूपोइन्टनको सूर्योदयले मन लोभ्यायो” श्रेष्ठले भन्नुभयो “३३ वर्ष अमेरिका बसे, नेपालजस्तो आनन्द अन्त छैन, घरबासमा आउने सडक भने सुधार गर्न आवश्यक देखिएको छ, गुन्द्रुक, कोदोको रक्सी, कोदोको ढिडोसंगै अर्गानिक खानाका परिकारले अमेरिकानै भुलायो मलाई ।” लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटकहरु हुरुक्कै भएपछि यहाँका घरबास (होमस्टे)ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेपछि पाहुनाहरु मोहित भएका छन् ।

पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे घरबासमा पुग्ने पाहुनालाई त्यहाँको स्वागत सत्कारले निकै आकर्षित गर्ने गरेको छ ।
भकुण्डेको वनमा ढपक्कै फुलेको लालीगुराँस फूल टिपेर त्यहाँका स्थानीयले घरबासमा आउने पाहुनालाई स्वागत गर्ने गरेका छन् । बजारमा लालिगुराँस नदेखेका पर्यटकलाई राष्ट्रिय फूल लालीगुराँसले पर्यटकलाई थप मोहित पार्ने भन्दै चैत वैशाखको महीनामा लालीगुराँसले स्वागत गर्ने गरेको घरबासका सञ्चालक बताउँछन् ।
जिल्लामै पहिलोपटक २०६८ सालमा घरबासको स्थापना गरेका भकुण्डे गाउँका स्थानीय अहिले घरबासमा आउने पाहुनालाई रिझाउन व्यस्त हुने गरेको अतिथि सत्कार घरबासका सञ्चालक अप्सरा थापा बताउनुहुन्छ । मगर समुदायको बस्ती भएको भकुण्डे गाउँमा मगर समुदायको संस्कृति तथा विभिन्न पर्यटकीयस्थल, मुलाबारी दृश्यावलोकन स्तम्भ, बराह ताल, हीराताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक भकुण्डे आउने गरेका छन् । भकुण्डेमा हाल नौ घरमा घरबास कार्यक्रम सञ्चालन भइरहेको छ ।
“शुरुमा पाहुनालाई कसरी स्वागत सत्कार गर्ने भन्ने ज्ञान थिएन”, थापाले भन्नुभयो, “अहिले घरबास व्यवस्थापनसम्बन्धी तालीम प्राप्त भइसकेपछि धेरै कुराको ज्ञान भयो ।” थापाले मौसमअनुसार फुलेका फूलमध्ये पाहुनाले लालीगुराँस अत्यधिक रुचाउने गरेका कारण वनमा गएर स्वागतका लागि लालीगुराँस ल्याउने गरेको बताउनुभयो ।

घरबासमा आउने पाहुनालाई आकर्षित गर्न यहाँका समुदायले भकुण्डे जनजाति सङ्ग्रहालयसमेत स्थापना गरेका छन् । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुद्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा रहेको चार तले पक्की दृश्यावलोकन स्तम्भ निर्माणसँगै घसबासमा बसेर बिहानै सूर्योदय हेर्न आउने पर्यटक वृद्धि हुन थालेको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । यहाँको स्वागतसँगै स्थानीय खाना, मुला, आलु, सिन्की, लोकल कोदोको रक्सी, मकै, कोदो, भटमासलगायतका स्वादिष्ट परिकारले मनै लोभ्याएको घरबास पुगेका पर्यटक करिस्मा क्षत्रीले बताउनुभयो ।
पर्यटक स्वागतमा सयपत्री फुलको माला तथा बिदाइमा लालीगुराँसको फूल उपहारस्वरुप प्रदान गरिने घरबास सञ्चालक यामबहादुर थापाले बताउनुभयो । भकुण्डेमा पछिल्लो समय इटाली, न्यूजिल्याण्ड, जापान, अष्ट्रेलिया, कोरियालगायतका देशबाट समेत पर्यटक आउन थालेका छन् । मिलेको भू–बनोट, भकुण्डेबाट देखिने एक दर्जन बढी हिमऋङ्खला, मगर कला संस्कृति भकुण्डेको पहिचान नै बनेको छ । बागलुङ नगरका पर्यटकीय क्षेलाई उजागर गर्न बागलुङ नगर पर्यटन विकास समितिले पत्रकार र नीजि क्षेत्रलाई हालै भकुण्डे घरबास समेत पु¥याएको नगर उपप्रमुख तथा नगर पर्यटन विकास समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।