बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचिमा नपरेका चर्चित कलाकार प्रकाश सपुतले राजनीतिमा नलाग्ने बताउनु भएको छ ।
सपुतले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै राजनीतिक चेतको भारी बिसाएर जनतालाई मनोरञ्जन दिने उल्लेख गर्नु भएको छ । म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु, मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन चाहन्छु, सपुतले भन्नु भएको छ, म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु ।
सामाजिक सञ्जाल मार्फत सपुतले राजनीतिमा समावेश नहुने सार्वजनिक घोषणा गर्नु भएको हो । ५ वर्षको समय देशलाई दिने सोचेको थिए, मानसिक र व्यवहारिक रुपमा तयार थिए, जीवनको कुनै न कुनै मोडमा देशको कुनै कार्यकारी निकायमा बसेर काम गर्ने सोच पहिलेदखिके थियो, अहिले आएर त्यो संयोग र अवसर मिलेको मात्र हो, सपुतले भन्नुभएको छ, –‘मैले होस हवास मै निर्णय लिएको थिए र निर्वाचनमा होमिएको थिए ।’ नेता वा सांसद मात्रै हुने नियत भएको भए यस अगाडि पनि अवसर आएको थियो, यसपटक प्रतिनिधिसभामा पुगेर मुख्य ३ वटा काम गर्ने लक्ष्य लिएको थिए, सपुतको भनाइ छ ।
प्रकाशका तीन काम मध्ये पहिलो, नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्न, पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न एउटा नयाँ राजनीतिक शक्तिका रुपमा स्थापित हुन रास्वपालाई समर्थन र सहयोग गर्ने थियो ।
दोस्रो, बालेनको नेतृत्वमा स्थायी सरकार निर्माण गर्न खुलेर लागी पर्ने र तेस्रो यसरी स्थापित नयाँ शक्ति र सरकारलाई उपेक्षित उत्पीकडित हाम्रो समुदायको अनुहार देखाईरहने र झकझकाई रहने भन्ने रहेको थियो ।
निर्वाचन पछि “म छुटे” भन्ने त मलाई लागेको छ तर आफ्नो उद्देश्य पुरा भएकोमा फुरुङग भएको छु, प्रकाशले भनाइ छ ।
म मेरा केही शुभेच्छुक, मेरो जन्म गाउँ, जिल्ला र जो मलाई सदनमा देख्न चाहन्थे उनीहरुका निम्ति दुखी छु । तर, मैले मेरो निम्ति र कुनै क्षेत्र विशेष उम्मेदवारको निम्ति भनेर कुनै ठाउँमा भोट मागिन, समग्रमा यसपाली परिवर्तनको पक्षमा भोट हाल्न आग्रह गर्दै हिँडे उहाँले उल्लेख गर्नु भएको छ ।
मामुली गायक, चटके, जो पनि नेता, अवसरवादी जे जे भने पनि म एउटा उत्पीडित समुदायमा जन्मिएको, समाज देखेको र बुझेको आम नागरिक मध्येको एक हुँ । राजनीतिक परिवर्तन देख्दै र भोग्दै हुर्किएको पुस्ता हुँ, सपुतले आफुलाई आरोपित गर्नेहरुका लागि जवाफ दिनु भएको छ । नयाँ बन्ने सरकारलाई जनताको अभिमत अनुसार काम गर्न सल्लाह दिदै सपुतले आफुलाई कही कतै नियुक्ती वा अन्य अवसरका लागि नजोड्न समेत आग्रह गर्नु भएको छ ।
प्रकाश सपुतले सामाजिक सञ्जालमा उल्लेख गरेको वक्तव्य यस प्रकार रहेको छ ।
विश्व प्रसिद्ध कोरियन संगीत समूह बिटिएसले २ वर्ष सेनाका रुपमा देशलाई सेवा गरेर फर्किएपछि आज मार्च २१ तारिख लाईभ कन्सर्ट सहित आफ्नो नया एल्बम रिलिज गर्दैछ । नेटफिलिक्समा लाईभ स्ट्रिम गरिने कन्सर्टको संसारभरीका फ्यानहरु प्रतिक्षा गरिरहेका छन् ।
विटिएसले २ वर्ष देशलाई दिए जस्तै मैले पनि मरिजाने चोलाको ५ वर्ष देशलाई दिने सोचेको थिए । छोटो समयमा मानसिक र व्यवहारिक रुपमा तयार भैरहेको थिए । किनकि जीवनको कुनै न कुनै मोडमा देशको कुनै कार्यकारी निकायमा बसेर काम गर्ने सोँच पहिले देखिकै हो । अहिले त्यो संयोग र अवसर मिलेको थियो । मैले होश हवासमै निर्णय लिएको थिए र निर्वाचनमा होमिएको थिए ।
हुन त नेता वा संसद हुने मात्रै नियत भएको भए यस अगाडि पनि त्यस्तो अवसर आएको थियो । त्यसैले यसपाली आफू प्रतिनिधि सभामा जाने मात्रै मेरो उद्देश्य थिएन, मेरो मूलतः ३ वटा उदेश्य थिए जुन मैले डे वान देखि भन्दै आएको छु
१ – नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्न, पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न एउटा नयाँ राजनीतिक शक्तिका रुपमा स्थापित हुन रास्वपालाई समर्थन र सहयोग गर्ने
२- बालेनको नेतृत्वमा स्थायी सरकार निर्माण गर्न खुलेर लागी पर्ने
३- यसरी स्थापित नयाँ शक्ति र सरकारलाई उपेक्षित उत्पिडित हाम्रो समुदायको अनुहार देखाईरहने र झकझकाई रहने ।
यी ३ उद्देश्यले होमिएको निर्वाचन पछि मलाई “ म छुटे” भन्ने त लागेको छ तर आफ्नो उद्देश्य पुरा भएकोमा छोटो तयारीका बिच उत्कृष्ट नम्बर लिएर पास भएको कुनै स्कुले विधार्थी जस्तैः फुरुङग भएको छु । मेरो कुनै गुनासो छैन । म मेरा केही शुभेच्छुक, मेरो जन्म गाउँ, जिल्ला र जो मलाई सदनमा देख्न चाहन्थे उनीहरुका निम्ती दुखी छु । तर, मैले मेरो निम्ती र कुनै क्षेत्र विशेष उम्मेदवारको निम्ती भनेर कुनै ठाउँमा भोट मागिन, समग्रमा यसपाली परिवर्तनको पक्षमा भोट हाल्न आग्रह गर्दै हिँडे । हुन पनि त्यस्तै भयो । एक प्रकारले यसपाली हामी सबैको मत गोप्य रहेन । हामी सबै परिवर्तनको पक्षमा भईयो भनुम्न ।
खैर, “मामुली गायक, चटके, जो पनि नेता, अवसरवादि जे जे भने पनि म एउटा उत्पीडित समुदायमा जन्मिएको, समाज देखेको र बुझेको आम नागरिक मध्येको एक हुँ । राजनीतिक परिवर्तन देख्दै र भोग्दै हुर्किएको पुस्ता हुँ । म उमेरले १२- १३ वर्षको हुँदा देखिनै समाज प्रति मेरो ख़्याल विरोधाभास थियो । म कहिले बम बोकेर सूर्य पण्डितको घरमा छिरेको कल्पना गर्थे, कहिले पैसाको बिटोले भण्डारी साहुको मुखमा हानेको कल्पना गर्थे । यसरी जातिय र वर्गिय रुपमा अपहेलित भएकाले मेरो बाल मनोविज्ञानमा एक प्रकारको कुण्ठा र आक्रोश स्वभाविक थियो । तर, समाजमा बाँच्न हामीले सहदै, सद्भाव राख्दै आयौ । मैले आफ्नो उग्र कल्पनाशीलतालाई शालिन सिर्जशीलतामा ढाले । त्यसैले पेशाले कलाकार भए पनि कहीँ न कहीँ राजनैतिक र सामाजिक चेत धेरथोर छ । समाजको चिन्ता र माया छ । मैले बालेनसँगको भेटमा भनेको थिए- “ गणतन्त्र स्थापना पछि म किन जनयुद्दमा गइन भन्ने पछुतो लागिरह्यो । ६२- ६३ को जन आन्दोलनमा पनि म छुटे । तपाई काठमाण्डुको मेयर उठ्दा पनि हामीले सहयोग गर्ने आँट गरिएन । रास्वपा सुरुवात हुदै गर्दा सोविता गौतम जीले प्रकाश जी अब गीतले मात्रै टेरेनन्, आउनुस् राजनीति मार्फत् सदनमै पुगेर थर्काउन जाउँ भन्दा पनि अहिले हतार नगरौ भन्ने लाग्यो। अब अहिले जेनजी आन्दोलन पछि फेरी देशले नयाँ खालको राजनैतिक परिवर्तन खोजेको छ । म तपाईहरु सँगै हिँड्न चाहन्छु बालेन जी । यो परिवर्तनको साचि र सारथी हुन चाहन्छु । मैले परिवर्तन स्पष्ट देखेको छु । म फेरी छुट्न चाहन्न । म पछुताउन चाहन्न ।” मैले भनेको थिए
हुन त देशका लागी केही गर्न पद नै चाहिने भन्ने त होईन । यत्तिकै पनि त योगदान गर्न सकिन्छ हैन र ? हो, सकिन्छ । तर प्रभाव पर्ने गरी काम गर्न भूमिका चाहिन्छ । नत्र टेलिभिजनबाट खबरदारी गरिरहेका रबि लामिछाने पार्टी खोलेर आउने थिएनन्, हिपहप मार्फत् समाज बोलिरहेका बालेन लौरो लिएर उठ्नु पर्दैन थियो । त्यसैले भूमिका चाहिन्छ । यसपाली त झन् एउटा विशेष परिस्थिति हो ।ऐतिहासिक अवसर र ज़िम्मेवारी प्राप्त हुँदै थियो । यदि सांसद भएको भए के- के गर्न सकिन्छ भन्ने तयारी र छलफल पनि हामीले थालेका थियौ । ग़ैरराजनीतिक दलितअधिकारकर्मीहरुसंग म निरन्तर छलफलमा थिए । संस्कृतिकर्मी र पर्यटन व्यवसायीहरुसंग निरन्तर कुराकनी भैरहेको थियो । किनकि मलाई पहिलो उत्पीडित समुदायको मुद्दामा र अर्को नेपाली रैथाने मौलिक संस्कृतिको क्षेत्रमा ठोस नीति र योजना बनाएर काम गर्न सकिन्छ भन्ने लागेको थियो । धेरै थोक गर्न नखोज्ने यस्तै २/३ वटा विषयलाई फोकस गरेर यो पाँच वर्ष संसदीय अभ्यास गर्ने र ३ तहकै सरकार संग समन्वय गरेर फिल्डमै खटिएर पनि काम गर्ने सोच बनाएका थियौ । एउटा इमान्दार जन प्रतिनिधिको आँखाले देश देख्ने धोको थियो ।
ह्यात्तेरी, कस्तो धोको रहयो भन्या !
समानुपातिकमा नअट्ने भएपछि सभापति रवि दाइले फ़ोन गर्नु भयो- “प्रकाश जी तपाई छुट्नु भयो । तपाई जत्तिको मान्छेले संबैधानिक व्यवस्था बुझ्नु हुन्छ । केही छैन । तपाईले उठाउन खोजेको समानताको मुद्दा हामी सबैको साझा मुद्दा हो । त्यसमा प्राथमिकताका साथ काम हुन्छ । बरु अब तपाईको आगामी राजनीतिक यात्रा बारे केही सोच छ भने मलाई भन्नु होला । पार्टीमा बसेर पनि देशको निम्ति योगदान गर्न सकिन्छ । राजनीतिमा रुचि छैन भने पहिले जस्तै स्वतन्त्र रुपमा आफ्नो सिर्जना मार्फत हामीलाई सहयोग र खबरदारी गर्नु होला मैले भने- “एउटा व्यवसायिक कलाकारको रुपमा मलाई अलि अलमल त पक्कै भयो, मेरो समय म विस्तारै ठिक गर्दै जाउँला । देशको समय सुध्रियो भने हामी सबैको समय राम्रो हुन्छ । यसपाली देशको समय राम्रो हुने देखिएको छ । अहिले तपाईको नेतृत्वमा झण्डै २ तिहाई सहितको शक्तिशाली पार्टी बनेको छ रास्वपा । बालेनको नेतृत्वमा ५ वर्षको स्थिर सरकार बन्दैछ । यो प्रक्रियाको एउटा सानो हिस्सा बन्न पाउदा मेरो मनले मलाई धन्यवाद दिइरहको छ । आगामी कयौं पुस्ताले धन्यवाद दिने गरि काम गर्नुहोला । अब साँच्चिकै देश बन्छ भन्ने अनुभूति दिलाउनुहोला । यो देश हामी सबैको हो भन्ने महशुस गराउनु होला । यदि अहिले परिवर्तनको पक्षमा उभिएकै कारण मेरो कलाकारिताको कद घट्दै गएछ भने मेरो माइक समाउने हातले गाउ फर्केर हलो समाउन सक्छ । गरिखान सकिन्छ ।
पिर छैन । म आफ्नो व्यक्तिगत स्वार्थको लागी कुनै दिन तपाईहरु कहाँ आउने छैन । मलाई कतै एड्रेस गर्न कुनै निकायमा नियुक्ति दिने यताउता सुझाव देलान् । त्यता केही नसोच्नुहोला । चुनावी अभियानका क्रममा बिराटनरको चादनी चोकमा २०/३० जनाको अगाडि हाते माइकमा गीत गाउनु पर्दा म भित्रको एउटा स्टार कलाकार रोएको थियो । आज तपाईको फोनले त्यो स्टारको आँशु पनि पुछियो । एउटा नेतृत्वमा हुने पर्ने यो गुण तपाईमा सधै भैराखोस् । म अब ढुक्कले जनतालाई मनोरन्जन दिन चाहन्छु । मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।”