• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

६९ औ राष्ट्रिय सहकारी दिवस : बागलुङमा सहकारी सम्बन्धी फिल्मको विशेष शो हुने

बागलुङ।नेपालमा सहकारीको शुरुवात भएको दिन, चैत २० गते देशव्यापी रुपमा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ चैत २० गते पहिलो सहकारी स्थापना भएको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिन्छ । यसपटकको ६९ औं राष्ट्रिय सहकारी दिवस–२०८२ उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता भन्ने मूल ध्येयका साथ देशव्यापी रुपमा मनाइदैछ ।

यसैसन्दर्भमा बागलुङमा तीन दिने विशेष कार्यक्रमका साथ सहकारी दिवस मनाउन लागिएको जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो । चैत २० गते नेपाली सहकारीकर्मीहरुको विशेष दिन हो, यो दिनमा सहकारीका विविध पक्षका विषयमा छलफल गर्ने, विगतका सकारात्मक विषयलाई बढावा दिन र कमी कमजोरी सुधार गर्नका लागि दिवसलाई प्रभावकारी रुपमा मनाउदै आएको छौ, अध्यक्ष कार्कीले भन्नुभयो,–‘यसपटक पनि हामीले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउदैछौ ।’

सहकारी दिवसका अवसरमा पहिलो दिन चैत १८ गते प्रदेश सहकारी रजिष्ट्रार कार्यालयसंगको सहकार्यमा सहकारीमा ऋण व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बचत तथा ऋण सहकारीहरुमा पछिल्लो समय देखिएका समस्यालाई सहज रुपमा समाधानका लागि ऋण असुली प्रमुख काम हो भन्ने सबैको ठहर छ, कार्कीले भन्नुभयो,–‘ऋण असुलीलाई प्रभावकारी बनाउन सक्दा सदस्यहरुको वचत फिर्तामा सहजता आउने भएकाले यो सबैको चासोको विषय हुनुपर्छ ।’

सहकारी दिवसका अवसरमा चैत १९ गते बिहान ८ बजेदेखि बिएसआर मुभिज बागलुङमा सहकारी विषयसंग सम्बन्धि नेपाली कथानक चलचित्र ‘लक्ष्मी प्रसाद’ प्रदर्शन गरिने भएको छ । सहकारी भावनाको विकास गराउदै सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्यालाई न्यूनिकरण गर्न मद्दत पुग्ने सोचका साथ लक्ष्मी प्रसाद चलचित्र निर्माण गरिएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक प्रकाश भट्टराईले बताउनुभयो । चलचित्रमा सहकारीका सदस्यहरु, सञ्चालकहरुको भूमिका, सहकारी मार्फत उद्यमशिलता विकास, वचत संकलन र परिचालन, ऋण लगानी, असुली र खराव ऋण तथा सहकारीका खराव ऋणीहरुको कालोसूचि लगायतका विषयहरु समेटिएको निर्माता निर्देशक भट्टराईले बताउनुभयो ।

दिवसको मुख्य दिन चैत २० गते बागलुङ नगरपालिका र जिल्ला सहकारी संघले नगरपालिका भित्रका सबै सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा प्रवन्धहरु सहितको बृहत अन्तरक्रिया कार्यक्रम गर्ने तय भएको कार्कीले बताउनुभयो । जिल्ला सहकारी संघले बागलुङका अन्य पालिकाहरुलाई सहकारी दिवसलाई प्रभावकारी रुपमा मनाउनका लागि आव्हान गरेको उहाँले जानकारी दिनुभयो ।