बागलुङ । निर्वाचन सम्पन्न भएको २ महिना पुग्न लाग्दा पनि पार्टीले समिक्षा लगायत पार्टी परिचालनको योजना नल्याएको भन्दै एमालेका युवा नेताहरु पार्टी सक्रिय बनाउने अभियानमा जुट्न थालेका छन् ।
पार्टीलाई शसक्त ढंगले अगाडि बढाउनका लागि युवा पुस्ताको हस्तक्षेप आवश्यक ठानेर अनेरास्ववियू र यूवा संघको मुल नेतृत्व लगायत पदाधिकारी केन्द्रीय सदस्यको जिम्मेवारी लिइ सकेका युवा नेताहरु अग्रसर भएका छन् । शनिवार काठमाडौं भएको एक भेलाका सहभागीहरुले पार्टीको मूल नेतृत्वमा समस्या देखिएको निष्कर्ष निकाल्दै पार्टीलाई पुर्नजागरण गर्नु पर्नेमा जोड दिएका थिए ।
पार्टीको अभियान किन कमजोर भयो, नेतृत्व कहाँ चुक्यो, कसरी अगाडि बढ्दा पार्टीलाई थप शसक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा युवा नेताहरुले बहस शुरु गरेका छन् । जिम्मेवार युवा नेताहरु स्वतस्फूर्त रुपमा अभियानमा जुट्नु भएको छ, भेलाका एक सहभागीले भने–‘यो अभियान नेकपा एमालेलाई पुर्नजागरण गर्न, जनताका बीचमा थप शसक्त रुपमा अगाडि बढाउन र युवा पुस्तालाई राजनीतिमा थप सक्रिय बनाउनका लागि हो ।’
निर्वाचन सकिएको दुइ महिना पुग्यो, आजसम्म पार्टीले चुनावको समिक्षा गर्न सक्दैन, पार्टी हराएको जस्तो भयो, यसरी पार्टी प्रभावकारी रुपमा अगाठि बढ्न सक्दैन भन्ने भेलाको निष्कर्ष हो, ति सहभागीले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारीको जिम्मेवारीबाट झिकेर सम्मानका साथ आलंकारिक पदमा राख्न भेलाका सहभागीहरुले सुझाव दिएका छन् ।
युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल, अनेरास्ववियूका पूर्व अध्यक्ष समिक बडाल, नरेश रोकाया, युवा संघका पूर्व नेता रोशन बस्नेत लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । फागुन २१ मा सम्पन्न चुनावमा पराजयको मुख्य जिम्मेवार वर्तमान नेतृत्वको कार्यशैली र कमजोरी भएको ठहर भेलाले गरेको छ ।
नेतृत्वले युवाहरूको भूमिकालाई नियतवश ओझेलमा पारेको र सक्षम व्यक्तिहरूलाई गुटबन्दीको आरोप लगाएर जिम्मेवारीबाट वञ्चित गरेको, पार्टीलाई अध्यक्षले कब्जामा लिएको र कार्यकर्तालाई विचारको बहस गर्न समेत नदिइएको भन्दै भेलाले सातै प्रदेशमा पार्टी पुनर्जागरण र पुस्तान्तरणको पक्षमा देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।