• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाम सार्वजनिक : के.बी.उप्रेती आवद्ध सहकारीका मात्र ४७ जना

बागलुङ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ९२ जना ठूला ऋणीहरूलाई ऋण मिलान गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिको बैशाख २३ गतेको निर्णयानुसार समस्याग्रस्त सहकारीहरूबाट ऋण लिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो ।

समस्याग्रस्त २० मध्ये १० वटा सहकारीका ठूला ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरेर बक्यौता ऋण चुक्ता गर्न समितिले आग्रह गरेको छ । तोकिएको समयमा ऋण नतिरेमा प्रचलित कानुन अनुसार कारबाही अघि बढाइने चेतावनी समितिले दिएको छ । ‘अन्य ऋणीहरूको नामसमेत क्रमशः सार्वजनिक गरिने भएकाले त्यस्ता ऋणीहरुले पनि समितिमा सम्पर्क गरी ऋण मिलान गर्न सूचित गरिन्छ,’ समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच समितिले सार्वजनिक गरेका ठुला ऋणी मध्ये के.बी.उप्रेती आवद्ध ५ वटा सहकारीका मात्रै ४७ जना ठुला ऋणीको नाम सार्वजनिक भएको छ । के.बी.उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीसंग तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, आइडल यमुना बहुउद्दश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी एकीकरण भई आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो । एकीकृत सहकारीको अध्यक्ष के.बी.उप्रेती थिए । यि पाँचवटै सहकारीबाट ऋण लिएका ४७ जना ठुला ऋणीको नाम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेको हो ।

एकीकृत भएका मध्ये घेदुङ सहकारीका ५ जना, हाम्रो सगरमाथा सहकारीका १० जना, तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका १० जना, नागरिक कल्याण सहकारीका १२ जना र आइडल यमुना सहकारीका १० जना गरी एकीकृत आइनल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका मात्र ४७ जना ठुला ऋणीको नाम सार्वजनिक भएको हो । एकीकृत सहकारीले वचत फिर्ता नगरेको भन्दै वचतकर्ताहरुले गरेको उजुरीका आधारमा अध्यक्ष केबी उप्रेती २०८१ असारदेखि पूर्पक्षका लागि थुनामा छन् । एकीकृत संस्थाको अध्यक्षका रुपमा उप्रेती जेलमा जादा अन्य सञ्चालकहरु र ऋणीहरु भने कानुनी प्रक्रिया भन्दा बाहिर नै रहेका छन् ।

यस्तै समितिले पहिलो चरणमा नेपाल सहकारी वित्तीय संस्थाका २० जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका १० जना, ओरेण्टल कोअपरेटिभका ५ जना र तुलसी बहुमुखी सहकारीका १० जना ठुला ऋणीलाई ऋण तिर्न ताकेता गर्दै नाम सार्वजनिक गरेको हो । सहकारीबाट ऋण लगेका ऋणीहरु सम्पर्कमा नआउने र सञ्चालकहरु समस्यामा पर्ने समस्यालाई मध्यनजर गरेर समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण मिलानका लागि ताकेता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

नयाँ सरकार बनेपछि जारी गरिएको सय प्रतिवद्धतामा समस्याग्रस्त सहकारीका वचतकर्ताको रकम फिर्ता गर्ने उल्लेख छ, सोही अनुसार सरकारले ऋणीहरुबाट असुल गरेर सानो वचत फिर्ता गर्ने र बाँकी वचत ऋणीसंगै सञ्चालकहरुको जायजेथाबाट फिर्ता गराउने तयारी गरेको छ । सरकारले खराव ऋणीहरुलाई ताकेता गरेसंगै सहकारीको वचत फिर्ता गर्न नसकेर जेल परेका, सम्पर्क विहिन भएका लगायतका सञ्चालकहरुलाइ राहत भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेका ऋणीहरुको नाम निम्नानुसार रहेको छ ।