• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

सभापति निलम्बनमा परेका कारण रास्वपा जैमिनीको अधिवेशन स्थगित

  • २०८३ जेष्ठ ११, सोमबार

बागलुङ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जैमिनी नगरपालिका अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको छ । रास्वपा बागलुङले सञ्चालन गरेको पालिका अधिवेशन अन्तरगत सोमबार जैमिनी नगरपालिका अधिवेशन आव्हान गरिएको थियो ।

जैमिनी नगरपालिका समितिका सभापति राजेन्द्र शर्मा आचार्य निलम्बनमा रहेका कारण उहाँलाई तत्काल सभापति बनाउन नसकिने भन्दै प्रदेश अनुशासन समितिले पत्राचार गरेपछि सहभागीहरुको दवावमा अधिवेशन स्थगित गरिएको पालिका कमिटिका एक सदस्यले बताए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताका समयमा शर्मालाई पार्टीले टिकट नदिएपछि उहाँले उज्यालो नेपाल पार्टीको तर्फबाट बागलुङ क्षेत्र नं. १ को टिकट लिएर आउनु भएको थियो, काठमाडौंबाट आउदै गर्दा उहाँले कमजोरी भएको भन्दै पुनः रास्वपामै सक्रिय हुनु भएको थियो, पालिका कार्यसमितिका ति सदस्यले भने,–‘उम्मेदवारी दर्ताकै दिनदेखि जैमिनीका रास्वपा सभापति आचार्य चुनावमा होमिनु भयो, आजसम्म रास्वपाकै अभियानमा हुनुहुन्छ, पालिका अधिवेशनको अन्तिम समयमा आएर कार्वाहीको पत्र आएपछि हामीले अधिवेशन स्थगित गरेका हौ ।’

अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको र सभापति राजेन्द्र शर्मा आचार्यकै अगुवाईमा अधिवेशन गर्ने अघिल्लो दिन आइतवार राती प्रदेश अनुशासन समितिले पत्र पठाएको रास्वपा स्रोतले बताएको छ । अधिवेशनका लागि जैमिनीका विभिन्न वडाबाट आएका प्रतिनिधिहरु, पालिका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, समर्थक, शुभेच्छुक सहित अतिथिहरु समेत उपस्थित भइसकेपछि संस्थापक सभापतिलाई रोक्ने हिसावले पत्राचार गरेका कारण अधिवेशन तत्कालका लागि स्थगित गरिएको जनाइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका आंकाक्षी मध्येका एक शर्माले टिकट नपाएपछि उज्यालो नेपालको चिम चिन्हबाट चुनाव लड्नका लागि टिकट प्राप्त गर्नु भएको थियो । यद्यपी उम्मेदवारी दर्ताको दिन माघ ६ गते उहाँले आवेशमा आएर अर्को पार्टीको टिकट लिएको भन्दै पुनः रास्वपामै क्रियाशिल हुने र रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार सुशिल खड्का र समानुपातिक उम्मेदवारलाई सघाउने प्रतिवद्धताका साथ चुनावमा सक्रिय हुनु भएको थियो ।
उम्मेदवारी दर्ताको मुखमा आएर पार्टी परित्याग गरेको विषयमा शर्मासंग स्पष्टीकरण सोधिएको थियो ।

अधिवेशन स्थगित भएको विषयमा रास्वपा बागलुङका सभापति महेन्द्र खड्कासंग सम्पर्क गर्दा उहाँले जैमिनीका सभापति आचार्यको निलम्बन एकहप्ता बाँकी रहेकाले अधिवेशनको मिति परिवर्तन गरिएको जानकारी दिनुभयो ।
प्रदेश अनुशासन समितिले जैमिनीका सभापति आचार्यलाई निलम्बन गरेको थियो, निलम्बनको समय अझै एक साता रहेकाले पालिका अधिवेशन तत्कालका लागि स्थगित गरेका छौ, जिल्ला सभापति खड्काले भन्नुभयो, –‘जेठ २४ गते जिल्ला अधिवेशन हुदैछ, आचार्यको निलम्बन फुकुवा भएपछि जिल्ला अधिवेशन पूर्व नै जैमिनीको अधिवेशन सम्पन्न गर्छौ ।’ रास्वपा जैमिनीका सभापति राजेन्द्र आचार्यले आइतवार सांझ सामाजिक सञ्जालमार्फत नगर अधिवेशनका लागि निमन्त्रणा गर्नुभएको थियो ।

  • २०८३ जेष्ठ ११, सोमबार