• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बडिगाडमा भीषण हावाहुरी र असिनापानीको कहर :दुई दर्जनभन्दा बढी घरमा क्षति

बडिगाड , बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका क्षेत्रमा गएराति आएको भीषण हावाहुरी, असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिका कारण गाउँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन्।

विशेषगरी दाँगमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत अवरुद्ध गराउने जस्ता समस्या निम्त्याएको हो। रातिको समयमा आएको विपत्तिले स्थानीय बासिन्दा त्रसित बनेका थिए। स्थानीय अनुसार डेम बहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकलि घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीम बहादुर रास्कोटी, कल्पना घिमिरे, देविचन रास्कोटी, अमृत जिसी, सागर जिसी, अमर बहादुर पाईजा लगायतका घरमा बढी क्षति पुगेको छ।

धेरै घरका जस्तापाता उडेको, गोठ तथा भण्डारण कक्षमा क्षति पुगेको र खाद्यान्न समेत भिजेर नष्ट भएको बताइएको छ। प्राकृतिक विपत्तिपछि गाउँमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ भने कतिपय परिवार सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन्। एकातिर घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने अर्कोतर्फ किसानले लगाएको मकैबाली असिनाले पूर्णरुपमा नष्ट गरेको छ। केही दिनअघिसम्म हरियाली देखिएको बारी अहिले उराठ दृश्यले किसान चिन्तित बनेका छन्। वर्षदिनको आशा बोकेको मकैबाली एकै रातमा नष्ट भएपछि स्थानीय किसान भावुक बनेका छन्।

स्थानीय कृषकका अनुसार यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको मकैबाली असिनाले सखाप पारेपछि खाद्यान्न संकटको चिन्ता समेत बढेको छ। “घर पनि बिग्रियो, बाली पनि सखाप भयो, अब कसरी वर्ष कटाउने भन्ने चिन्ता थपिएको छ,” एक पीडित किसानले दुखेसो पोखेका छन्। वडिगाड गाउँपालिका(५, का वडा अध्यक्ष सहितको प्रहरी टोलिले क्षतिको विवरण संकलन सुरु गरेको जनाइएको छ। प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।

प्राकृतिक विपत्तिले फेरि एकपटक ग्रामीण भेगका नागरिक कति असुरक्षित अवस्थामा बाँचिरहेका छन् भन्ने यथार्थ उजागर गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। अहिले प्रभावित क्षेत्रमा क्षतिको यथार्थ विवरण संकलन गर्ने तथा राहत वितरणको तयारी भइरहेको बताइएको छ।