बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा भुस्यिाहा कुकुर व्यवस्थापन थालेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्दार गरेर होस्टेलमा राखिएको छ ।
बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि बागलुङ नगरपालिकाले दीगो व्यवस्थापन थालेको हो । नगरपालिकाले ‘कुकुर होस्टेल’ बनाएर कुकुरहरुको उद्दार थालिएको छ । ५० वटा भुस्यिाहा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा नागकिरलाई दुःख दिएका १० भुस्यिाहा कुकुरलाई होस्टेल राखिएको बागलुङ नगपालिकाले जनाएको छ ।
नगरपालिकाले लामो समयदेखि छाडा छोडिएका कुकुर समाउने अभियान थाल्दै कुकुर उद्दार गरी बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा एक करोड खर्चेर जग्गा तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहको लागि थालेको बागलुङ नगरपालिकाको पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
नवप्रवद्र्धन कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा रु. १ करोड लागतमा कुकुर होस्टेल बनाएर कुकुर राख्न थालिएको हो । बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख खर्च गरेर होस्टेल बनाइएको हो । नगरपालिकाले कुकुरलाई आवास, खानपान र खुल्ला चौरमा समेत बस्ने व्यवस्था मिलाएको छ ।
सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले दुई वर्ष अघि नै नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो ।
“कुकुर बन्ध्याकरण समेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपान सहित व्यवस्थापन गर्दा बागलुङ बजारको समस्या विस्तारै हट्ने छ” पशु शाखा प्रमुख मित्रलाल सापकोटाले भन्नुभयो “घरपालुवा कुकुर विरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताएको भएकाले समाधानका लागि होस्टेल बनाइएको हो, अहिले होस्टेलमा एक जना कर्मचारी राखेर उनिहरुको स्याहार सुसार गर्ने व्यवस्था मिलाइएको छ, होस्टेलमा रहेका कुकुरलाई अवलोकन गर्ने व्यवस्था समेत मिलाइएको छ ।”
सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । छाडा कुकुरका कारण दुर्घटना भएर मोटरसाईकल चालक घाइते भएको र स्थानीयलाई टोकेर रेबिज रोगसमेत लाग्न थालेपछि नगरपालिकाले करोड खर्चेर होस्टेल निर्माण गरेको हो ।
नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको, कुकुरको पहिचान गर्ने र औषधी र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको छ ।
दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । दर्ता गरिएका कुकुरलाई नगरले खोप र औषधि सेवा निःशुल्क र मृत्यु भएमा शव व्यवस्थापन समेत गर्दै आएको छ । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए घाटीमा नीलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था थालिएको हो ।
नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउने काम गरिरहेको हो । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको भनाई छ ।
कुकुर होस्टेल नेपालमै नमूना कार्यक्रम रहेको नगरपालिकाको भनाई छ । सामुदायिक कुकुरबाट रातको समयमा नागरिकलाई निकै समस्या भइरहेको सन्दर्भमा नगरपालिकाले चालेको अभियान राम्रो भएको बागलुङ बजारका स्थानीय रवि सुवेदीले बताउनुभयो ।
