बागलुङ । सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगंगा जलाशययुक्त परियोजना सहित पाँच जलविद्युत आयोजनालाई ठेक्कामा लैजाने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ल्याएको बजेट बक्तव्यमा बागलुङको उत्तरगंगा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरिएको छ ।
सरकारले रु.२१ खर्ब २४ अर्ब बजेट सार्वजनिक गर्दा उर्जा उत्पादन, प्रसारण र वितरण लाईन निर्माणका लागि रु.८५ अर्ब ५४ करोड विनियोजन गरेको अर्थमन्त्री स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।
अर्थमन्त्री वाग्लेले शुक्रबार सर्वजनिक गरेको बजेट बक्तव्यमा नेपालकै सस्तो नमुना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना सहित पाँच वटा ठूला जलविद्युत आयोजनाको बजेट व्यवस्थापन सहित ठेक्कामा लैजाने बताउनुभयो । सरकारले ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजना सहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २ सय १० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरु गर्ने बताएको छ ।
४ सय १७ मेगावाटको नलगाड, ४ सय ९० मेगावाटको अरुण–४ र २ सय ८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने अर्थमन्त्रीले बताउनुभयो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता समेतको लगानीमा ४ सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।
उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्विकृत भइसकेको छ । २२ वर्षअघिदेखि चर्चामा रहेको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले २०८० सालमा स्वीकृत गरेको हो ।
बागलुङमा निर्माण अघि बढेको आयोजना वि.स. २०६१ सालदेखि चर्चामा रहेको छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगंगा हाइड्रो पावर कम्पनी लिमिटेडले अघि बढाउदै आएको थियो । प्रतिमेगावाट लागतका दरले नेपालकै सबभन्दा सस्तो उक्त जलाशय आयोजनाको इआइए स्वीकृत भएको आयोजना ठेक्कामा लाग्ने बागलुङ क्षेत्र नम्बर २ का संघीय सांसद शोम शर्माले जानकारी दिनुभयो । उहाँले बागलुङको दुई नम्बर क्षेत्रमा रहेको आयोजनामा बजेट व्यवस्थापन सहित ठेक्कमा लैजाने गरी बजेट बक्तव्य आएको बताउनुभयो । उहाँले संयुक्त बजेटमा आएको र उत्तरगंगालाईनै रकम टुक्राएर बजेट पुस्तकमा आउने जानकारी दिनुभयो ।
निर्माण शुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनामा ढोरपाटन उपत्यकामा उत्तरगंगागको पानी जम्मा गरेर निसीखोलामा झारेर बार्हैमास विद्युतक उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको थियो । ढोरपाटनको उत्तरगंगा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनदेखि निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।
आयोजनामा ८५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने १८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । आयोजनामा दुई वटा भूमिगत विद्युत्गृह निर्माण हुनेछ । पहिलो विद्युत्गृहमा १०५ मेगावाट क्षमताका ४ वटा युनिट रहने छ । यसैगरी, दोस्रो विद्युत्गृहमा १०१ मेगावाट क्षमताका ४ वटा युनिट निर्माण हुनेछन् ।
आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादनका लागि योग्य भएकाले सरकारले अघि बढाएको सरोकारवालाको भनाई छ ।